काठमाडौं। नेपाली कांग्रेसका नेता श्याम घिमिरेले शेरबहादुर देउवालाई सभापतिको उम्मेदवार हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । नेतृत्व हस्तान्तरण विधि र प्रक्रियाबाट हुने भएकाले इच्छाले मात्र नहुने उनको तर्क छ ।
नेता घिमिरेले भने, ‘नेतृत्व कसैले कसैलाई दिएर दिइने कुरा होइन । यो हस्तान्तरण गरेर गरिने कुरा पनि होइन । देउवा ५१, ५२ वर्षमै प्रधानमन्त्री बन्नुभएको हो । यो टीका वा आशीर्वादले पाउनुभएको होइन । उहाँ संघर्ष र प्रक्रियाबाटै प्रधानमन्त्री बन्नुभएको हो । उहाँ प्रधानमन्त्री भएपछि गिरिजाबाबु, किसुनजी फेरि पनि प्रधानमन्त्री आउनुभयो । युवा आउनुहुन्न भन्ने पनि होइन, बूढाहरु बाहिर बस्नैपर्छ भन्ने पनि होइन । पार्टीम युवा पनि रहन्छन्, बूढा पनि रहन्छन् । समयको कुरा हो । प्रतिस्पर्धा गर्ने अधिकार सबैको छ । देउवाको पनि अधिकार छ । तर जित्नेले नेतृत्व पाउने हो ।’
आफू सदस्य रहेको रमेश लेखक समितिले डडेल्धुराको क्रियाशील सदस्यताको नामावली सहमतिबाटै टुंग्याएको औंल्याउँदै घिमिरेले यसमा विवाद झिक्नु आश्चर्यजनक भएको बताए । उनले थपे, ‘हाम्रो समितिले सहमतिबाटै सबै कुरा टुंग्याएको हो । यसको निर्णय बहुमत र अल्पमतबाट भएको होइन । पेलेर गरेको पनि होइन । रामचन्द्र पौडेललाई सबै जानकारी नभएको हुन सक्छ वा फरक ढंगले जानकारी गराइएको हुन सक्छ ।
हाम्रो समितिले टुंग्याउन नसकेको कुरा कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक रहेको छानबिन समितिले टुंग्याएको हो । ठूलो काम गर्दा सबैलाई न्याय भयो होला म भन्दिनँ । तर जति पनि निर्णय भएका छन्, ती सहमतिबाटै भएका हुन् । समितिमा पार्टीभित्रका सबै समूहको प्रतिनिधित्व छ । चित्त बुझ्ने, नबुझ्ने आफ्नो ठाउँमा छ । तर अहिले आएर किन प्रश्न उठेको हो रु म छक्क परेको छु ।’ अहिले महाधिवेशनको विकल्प नभएकाले नेताहरुले विवादभन्दा सहमतिमा बाटो तय गर्नुपर्ने उनको धारणा छ ।