एजेन्सी । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले युईएफए च्याम्पियन्स लिगको शुरुवात हारबाट गरेको छ । गएराति भएको समूह ‘एफ’को पहिलो खेलमा युनाइटेड योङ ब्वाइजसँग २-१ गोलले पराजित भएको हो ।
पहिलो हाफमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडि बढाएपनि अन्तिम समयमा गोल बेहोर्दा युनाइटेड पराजित भएको हो । खेलको १३ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि बढाएका थिए । ३५ औं मिनेटमा आरोन वान बिस्साका रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।
६६ औं मिनेटमा सिल्भान हेफ्टीको पासमा निकोलस नगामालेउले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए । यस्तै दोस्रो हाफको अतिरिक्त समयको पाँचौ मिनेटमा युनाइटेडका खेलाडी जेसी लिंगार्डको गलत पासको फाइदा उठाउँदै जोर्डान सिएबाट्चेउले गोल गर्दै योङ ब्वाइजलाई २-१ गोलको शानदार जित दिलाए ।
जितसँगै योङ ब्वाइज ३ अङ्क जोड्दै समूहको शिर्ष स्थानमा रहेको छ । यस्तै हिजै भएको समूहको अर्को खेलमा एटलान्टा र भिल्लारियलले २-२ गोलको बराबरी खेल्दै १/१ अङ्क बाढे ।
