बढ्यो विद्युतीय कारोबारको सीमा

काठमाडौं। नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा बढाएको छ । विशेषगरी प्रिपेड कार्ड, वालेटबाट गरिने कारोबारको सीमा बढाइएको हो । राष्ट्र बैंकले मंगलवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७८ जारी गर्दै विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा बढाएको हो । साथै, विद्युतीय माध्यमबाट गरिने कारोबार सेवा शुल्क पनि स्पष्ट रूपमा निर्धारण गरिएको छ ।

अब प्रिपेड कार्डबाट मासिक २ लाख रुपैयाँसम्म कारोबार गर्न मिल्ने व्यवस्था गरिएको छ । त्यसमा प्रतिकारोबार १० हजार र प्रतिदिन २० हजारको सीमा तोकिएको छ ।

यसअघि प्रतिदिन र प्रतिमहीनाको सीमा नै तोकिएको थिएन । प्रतिकारोबार भने २५ हजार तोकिएको थियो । अहिले यसको माग बढी भएपछि कारोबार सीमालाई स्पष्ट गरिएको राष्ट्र बैंकको भनाइ छ ।

एनएफसी (नियर फिल्ड कम्युनिकेशन टेक्नोलाजी) कन्ट्याक्टलेस कार्डमार्फत गरिने कारोबारको सीमा पनि बढाइएको छ । यसअघि यस्तो प्रविधिमार्फत एकपटक २ हजारसम्म मात्र कारोबार गर्न सकिने व्यवस्था थियो । अब भने एकपटकमा ५ हजारसम्म कारोबार गर्न सकिने निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकले वालेटमार्पmत गरिने कारोबारको सीमा पनि बढाएको छ । अब बैंक खाताबाट वालेटमा एकपटकमा ५० हजारसम्म पैसा जम्मा गर्न सकिनेछ । यस्तै, १ दिनमा १ लाख र महीनामा १० लाखसम्म रकम जम्मा गर्न सकिने निर्देशनमा उल्लेख छ ।

वालेटबाट अन्य बैंक खातामा रकम जम्मा गरिने रकमको सीमा पनि बढाइएको छ । अब वालेटबाट बैंक खातामामा रकम जम्मा गर्न एकपटकमा ५० हजार, प्रतिदिन १ लाख र प्रतिमहीना १० लाखको सीमा तोकिएको छ । वालेटबाट वालेट वाहकको बैंक खातामा रकमान्तर गर्दा भने कुनै सीमा नलाग्ने बताइएको आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खवर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *