कांग्रेस निर्वाचन निर्देशिकामा समावेशी समूह छुटेकाले चौथो दिन पनि रिले अनशन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले निर्वाचन निर्देशिकामा समावेशी समूह छुटेकाले रिले अनशन जारी रहेको बताएका छन् । पार्टीका अधिकांश नेताहरु सकारात्मक भएकाले यो विषय चाँडै टुंगिने उनको आशा छ ।  नेता परियारले भने, “अहिले हामी चौथो दिनको रिले अनशनमा छौं । नेपाली कांग्रेसको निर्वाचन निर्देशिकामा विगतदेखि प्रतिनिधित्व भएको समावेशी समूहमा छुटेको छ ।
प्रत्येक निर्वाचन क्षेत्रबाट दलित, मुस्लिम, मधेसी, महिलाको प्रतिनिधित्व छैन । १ सय ६५ निर्वाचन क्षेत्रबाट यसको ग्यारेन्टी हुनुपर्छ भन्ने हाम्रो माग हो । बाह्रौं महाधिवेशनमा प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जना महाधिवेशन प्रतिनिधिमध्ये एक दलित, एक महिला थिए भने तेह्रौंमा पनि त्यही थियो । अहिले २५ जना पुर्याइँदा एक जना पनि नआउने अवस्थाबारे पार्टी सभापति, वरिष्ठ नेता, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल सकारात्मक हुनुहुन्छ, यसलाई पार्टीले सुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।

नेता परियारले वडा अधिवेशन हुन बाँकी जिल्लाको क्रियाशील सदस्यता छानबिन नीतिगत रुपमा सम्पन्न भइसकेकाले असोज ५ गते हुने विश्वास व्यक्त गरे । सबै नामावली निर्वाचन समितिलाई नै हस्तान्तरण गरिने उनको भनाइ छ । उनले भने, “जहाँसम्म डडेलधुराको अधिवेशनको कुरा छ, हामीले यसबारे २३ गते सभापतिलाई भेटेर ध्यानाकर्षण गराइसकेका थियौं ।

तर जिल्ला निर्वाचन समितिको संयोजकले सहमति नहुँदै २५ गते दुइटा वडा बाहेक सबैमा अधिवेशन गराउनुभयो । त्यहाँ सबैको प्रतिनिधित्वि भएन भन्ने सुनेका छौं । यसलाई धेरै विवादको विषय नबनाउने सभापतिले भन्नुभएको छ । डडेलधुरा उहाँको गृहजिल्लामा भएकाले विधि र विधानमा टेकेर गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *