५२ देशबाट झन्डै २ खर्ब लगानी

काठमाडौं। नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म वैदेशिक लगानी मौज्दात ८ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ ले यस्तो देखाएको हो ।

उक्त आवको असार मसान्तसम्म नेपालमा १ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ वैदेशिक लगानी कायम भएको छ । त्यो भन्दा अघिल्लो आव २०७५/७६ मा प्रत्यक्ष वैदेशिक लगानी १ खर्ब ८२ अर्ब ९१ करोड रुपैयाँ कायम भएको थियो । त्यसभन्दा अघिल्लो आव २०७४/७५ मा वैदेशिक लगानी २ खर्बभन्दा बढी कायय भएको थियो ।

यो वैदेशिक लगानी प्रतिबद्ध गरिएको र भित्रिएको भन्दा नभएर कायम भएको वैदेशिक लगानी हो । वैदेशिक लगानी आएसँगै सम्बद्ध शेयर धनीले शेयर फिर्ता लैजाने काम पनि भइरहेको हुन्छ । साथै, सम्बद्ध शेयरधनीले लाभांश रकम नलगेर पुनः लगानी पनि गरेका हुन्छन् । ती सबैको हिसाब गर्दा २०७७ असार मसान्तसम्म त्यस बराबरको वैदेशिक लगानी कायम भएको हो ।

समीक्षा अवधिसम्म कायम वैदेशिक लगानीमा चुक्ता पूँजीको अंश ५४ दशमलव ४ प्रतिशत रहेको छ । यस्तै, लाभांशमार्फत गरिएको पुनः लगानी (रिजर्भ) को अंश भने ३३ दशमलव ८ प्रतिशत रहेको छ । यसैगरी ऋणको रूपमा ल्याइएको वैदेशिक लगानीको अंश ११ दशमलव ८ प्रतिशत रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । रकमका आधारमा चुक्ता पूँजीमा १ खर्ब ८ अर्ब ७ करोड, रिजर्भमा ६७ अर्ब ७ करोड र कर्जामा २३ अर्ब ३७ करोड रुपैयाँ विदेशी लगानी कायम भएको छ ।

कुल कायम वैदेशिक लगानीमा भारतको अंश सबैभन्दा बढी रहेको छ । वैदेशिक लगानी मौज्दात भारतको अंश ३१ दशमलव ५ प्रतिशत रहेको छ । दोस्रोमा चीन रहेको छ । २०७७ असार मसान्तसम्म चीनको यस्तो अंश १५ दशमलव ६ प्रतिशत रहेको छ । तेस्रो स्थानमा रहेको सेन्ट किट्स एन्ड नेभिसको अंश ७ दशमलव ७ प्रतिशत रहेको छ । समीक्षा अवधिसम्म नेपालमा ५२ देशको वैदेशिक लगानी कायम भएको छ ।

रकमका आधारमा भारतबाट ६२ अर्ब ४५ करोड, चीनबाट ३० अर्ब ९७ करोड, सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब २७ करोड रुपैयाँ वैदेशिक लगानी कायम भएको छ । यस्तै, आयरल्यान्डबाट १२ अर्ब ९३ करोड र सिंगापुरबाट १२ अर्ब ४३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *