१४ खर्बको व्यापार घाटाः आयात र निर्यात दुवै बढ्यो

काठमाडौं। आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६ दशमलव ८ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकले तयार गरेको गत आवको तथ्यांकअनुसार आयात २८ दशमलव ७ प्रतिशतले र निर्यात ४४ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १५ दशमलव ६ प्रतिशतले घटेको थियो भने निर्यात शून्य दशमलव ६ प्रतिशतले बढेको थियो ।

यसैगरी, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९ दशमलव ८ प्रतिशत र अमेरिकी डलरमा ८ दशमलव २ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकका अनुसार शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ सय ८२ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

त्यस्तै कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० दशमलव २ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको ठम्याइ छ ।

गत आवमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २१ दशमलव ४ प्रतिशतले र निजी क्षेत्रमाथिको दाबी २६ दशमलव ४ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ४६ खर्ब ६३ अर्ब र निजी क्षेत्रमाथिको दाबी ४१ खर्ब ३६ अर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा कुल वस्तु निर्यात ४४ दशमलव ४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात शून्य दशमलव ६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ५१ दशमलव ७ प्रतिशत र २७ दशमलव ७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १४ दशमलव ७ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, ऊनी गलैंचालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु आयात २८ दशमलव ७ प्रतिशतले वृद्धि भई १५ खर्ब ३९ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १५ दशमलव ६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२ दशमलव १ प्रतिशत, २८ दशमलव ६ प्रतिशत र १९ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल, सुनलगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारीलगायतका वस्तुको आयात घटेको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना (साउन २०७८) मा वैदेशिक व्यापार उत्साहजनक देखिएको छ । आयात र निर्यात दुवैमा उच्च वृद्धि भएको यो महिनामा निर्यातको वृद्धिदर ११५ दशमलव ८५ र आयातको वृद्धिदर ७५ दशमलव ६६ प्रतिशत पुगेको छ । आजको नागरिक दैनिकमा पूर्णभक्त दुवालले खवर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *