लघुवित्तमा पनि एनएफआरएस लागू

काठमाडौं। अब राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थाहरूले पनि आफ्नो वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार बनाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार लघुवित्त वित्तिय संस्थाहरूको नाममा एकीकृति निर्देशन संशोधन तथा जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि त्यस्ता लघुवित्तहरूले नेपाल लेखा मापदण्ड (एनएएस) अनुसार वित्तीय विवरण बनाउनुपर्र्ने व्यवस्था थियो । तर, अब एनएफआरएस अनुसार बनाउनुपर्ने गरी राष्ट्र बैंकले निर्देशन दिएको छ । २०७९ असारमसान्तको वित्तीय विवरण एनएफआरएस प्रणालीअनुसार समेत समानान्तर रूपमा तयार गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाका विषयमा घोषणा गरिएका केही व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशन तथा प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थासम्बन्धी गरिएको केही व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको बताए । यस्तै, केही नयाँ व्यवस्था पनि गरिएको उनको भनाइ छ ।

राष्ट्र बैंकले मर्जरमा जाने लघुवित्तलाई काठमाडौं उपत्यकामा कर्पोरेट र शाखा कार्यालय स्थापना गर्न दिने बताएको छ । तर, त्यसमा तोकिएको शर्त लागू हुने राष्ट्र बैंकको भनाइ छ ।

लघु वित्त वित्तीय संस्थाहरू गाभिएर वा प्राप्ति गरेर एक अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गरेमा काठमाडौंभित्र एउटा कर्पोरेट र दुईओटा शाखा कार्यालय स्थापना गर्न दिने बताइएको छ । साथै, एक अर्बभन्दा बढी चुक्ता पूँजी भएका संस्थाले एउटा राष्ट्रियस्तर वा दुईओटा प्रदेशस्तरका संस्था गाभेमा वा प्राप्ति गरेमा पनि उक्त सुविधा दिने बताइएको छ । तर, काठमाडौं उपत्यकाभित्र काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिकाबाहेकका स्थानमा मात्र कर्पोरेट र शाखा कार्यालय स्थापना गर्न दिइने राष्ट्र बैंकको भनाइ छ ।

थोक कर्जाप्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थालाई एकआपसमा मर्ज गर्ने बाटो पनि खुला गरिएको आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खवर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *