बाकसमा आए २४ नेपाली

काठमाडौं। स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपु¥याइएको हो । वैदेशिक रोजगार बोर्डको सचिवालयले मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ ।

बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्थुमात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए ।

विमानस्थल आइपुगेका नौवटा शव शनिबारै मृतकको घरसम्म पठाइएको बोर्डले जनाएको छ । यसरी विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षतिबारे खै मूल्याङ्कन? रोजगारीका लागि गएका युवामध्येबाट दैनिक औसतमा तीनवटा शव यसरी नै विमानस्थलमा आइपुग्छन् ।

पछिल्लो पटक कोभिडका कारण उडान नियमित नहुँदा विदेशमा सङ्कलन भएका शव १५ देखि महिना दिनको बीचमा एकैपटक ल्याउने गरिएको छ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा एक हजार २४२ जनाले ज्यान गुमाएका छन् । यस हिसाबले दैनिक मृत्यु हुनेको सङ्ख्या औसत तीन जना हुन आउँछ । जब कि अघिल्लो आर्थिक वर्षमा ६७४ जनाले ज्यान गुमाएको बोर्डको तथ्याङ्क छ ।

बोर्डका अनुसार पछिल्लो एक दशकमा १० हजार लगभगले विदेशमा ज्यान गुमाएका छन् । आव २०७७/०७८ सम्म नौ हजार ४२४ जनाको मृत्यु भएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । आजको गोरखापत्र दैनिकमा सीता शर्माले खवर लेखेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *