काठमाडौँ । काठमाडौँ र चीनको बेइजिङबीच भगिनी सम्बन्ध स्थापनामा जोड दिँदै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाल र चीन दुई देशबीचको कुटनीतिक सम्बन्ध, सहर तथा नागरिक स्तरको सम्बन्ध दिगो रहेको बताएकी छन् ।
बुधबार डंगोलको बैठक कक्षमा शिष्टाचार भेटका लागि आएका चाइना पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङसँग कुराकानी गर्ने क्रममा उनले काठमाडौँसँग चीनका सियान, नाञ्जिन, ल्हासालगायत सहरहरुसँगको भगिनी सम्बन्ध र आयामका विषयमा कुरा गर्दै राजधानी सहरकाबीचमा भगिनी सम्बन्धमा जोड दिएकी हुन् ।

उनको प्रस्तावमा अध्यक्ष वानमिङले दुई देशका राजधानी सहरका बीचमा भगिनी सम्बन्ध स्थापना गर्ने विषय सकारात्मक रहेको बताए । अध्यक्ष वानमिङले कार्यवाहक प्रमुख डंगोललाई आउँदो डिसेम्बर महिनाको ९ देखि ११ तारिखसम्म चीनको ग्वाञ्जाउमा आयोजना हुने ग्लोबल मेयर्स फोरममा सहभागी हुन निमन्त्रणा गर्दै बेइजिङ र काठमाडौँको भगिनी सम्बन्धले नेपाल र चीन बिचको सम्बन्धमा नयाँ आयाम प्रदान गर्ने बताए ।
त्यसक्रममा कार्यवाहक प्रमुख डंगोलले, भगिनी सम्बन्धलाई कागजमा सीमित नराखी नागरिक स्तरमा ज्ञान, सिप, प्रविधि, क्षमता बढाउने, संस्कृतिको आदानप्रदान, व्यापार व्यवसायको प्रवद्र्धन, पर्यटन लगायत उद्योगको विकासमा काम गर्नमा जोड दिइन् ।

‘२०७२ सालको भूकम्पले पुर्याएको क्षति व्यवस्थापन गर्न, सन् २०१९ मा फैलिएको विश्वव्यापी महामारी नियन्त्रण र व्यवस्थापन गर्न, २०८३ को रसुवा भोटेकोशी बाढीजन्य विपदको व्यवस्थापन गर्न चीनबाट भएको सहयोगको प्रशंशा गर्दै कार्यवाहक प्रमुख डंगोलले, काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्ने विश्वविद्यालयमा चीनबाट बौद्ध शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि उपयुक्त गन्तव्य बन्न सक्ने बताइन् ।
मानव सभ्यताको विकासका क्रममा कला, व्यापार लगायत क्षेत्रबाट जोडिएको सम्बन्ध आधुनिक विकास र समृद्धिको यात्रामा सँगसँगै हुने उनको विश्वास थियो । जलवायु परिवर्तनका विश्वव्यापी असर न्यूनीकरण जस्ता साझा समस्या समाधानमा समान धारणा निर्माण गर्दै अगाडि बढ्नु पर्नेमा उनको जोड थियो ।
भेटका क्रममा अध्यक्ष वानमिङले, काठमाडौँको संस्कृति र सांस्कृतिक वैभवबाट आफू प्रभावित भएको बताउँदै राजधानी सहर व्यवस्थापकीय दृष्टिले राम्रो भएको उल्लेख गरे । ‘स्थानीय रैथाने समुदायको प्रतिनिधित्व गर्दै युवा महिला नेतृले काठमाडौँ नेतृत्व गर्नु राजनीतिमा पनि उदाहरणीय कुरा हो ।’ उनले भने, ‘कला, संस्कृति तथा पर्यटन लगायत क्षेत्रबाट काठमाडौँसँग जनस्तरको सम्बन्ध विकासको सम्भावना छ । यसका लागि हामी इच्छुक छौँ ।’

महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख गंगाधर गौत्तमका अनुसार काठमाडौँसँग चीनका ७ वटा नगरसँग भगिनी सम्बन्ध छ । १९७० जनवरी १ तारिखका दिन सियान नगरसँग भगिनी सम्बन्ध स्थापना पत्रमा हस्ताक्षर भएपछि चीनका सहरसँग भगिनी सम्बन्ध सुरु भएको हो ।
यसपछि सन् २०११ अगष्ट २७ तारिखमा ल्हासासँग, सन् २०१६ को मे ११ तारिक लाञ्चोउ नगरसँग, यही बर्षको डिसेम्बर ९ तारिख छेन्दु नगरसँग, सन् २०१९ अक्टोबर १३ तारिखमा नाञ्जिन नगरसँग, सन् २०२१ मार्च २५ तारिख सेञ्जेन नगरसँग, यही बर्षको सेप्टेम्बर ९ तारिक जिञ्झाउ नगरसँग भगिनी सम्बन्ध स्थापनामा हस्ताक्षर भएको हो ।
काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध भएका धेरै सहर हुने देशहरुमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ ।यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।
