काठमाडौं । चितवन राइनोज तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार राति सम्पन्न इलिमिनेटरको खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन फाइनल नजिक पुगेको हो । अब चितवनले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । उक्त खेलको विजेताले फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटरमा पराजित काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ ।
जितको लागि २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४३ रनमात्र बनाउन सक्यो । काठमाडौंको लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए । उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै भीम शार्कीले नटआउट ३०, सहन अराच्चिगेले २४, रसिद खानले १२ र सन्तोष यादवले १० रनको योगदान गरेपनि जितको लागि पर्याप्त रहेन ।
चितवनको लागि रिजन ढकालले ४ ओभरमा १६ रन खर्चेर चार विकेट लिँदा उसमा मिरले तीन तथा सलाहुदीन खान र कुशल मल्लले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । चितवनको लागि कमिल मिश्राले नटआउट सतक र कप्तान रवि बोपाराले अर्धसतक बनाए । उनले ५९ बल खेल्दै १० छक्का र ५ चौकाको मद्दतमा १ सय २० रन बनाए । एनपीएलको इतिहासमा यो व्यक्तिगत उच्च स्कोर हो । यस्तै रवि बोपाराले ४२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५३ रन बनाउँदा देव खनालले १७ रन बनाए ।
काठमाडौंको लागि करण केसी र रशिद खानले समान दुई/दुई विकेट लिए ।
दोस्रो क्वालिफायर भोलि बिहीबार हुनेछ ।
