अझै उद्धारको पर्खाइमा ४ सय ३७ नेपाली

काठमाडौं। सशत्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७ जना नेपाली अफगानिस्तानमा उद्धारको पर्खाइमा छन् । नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाएका दुईवटा मेनपावर कम्पनीले यस्तो जानकारी दिएको हो ।

वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाउने कार्यमा संस्थागत रूपमा संलग्न दुईवटा मेनपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार काठमाडौंको एफएसआई ओल्ड मेनपावर कम्पनी र युनिभर्सल कनेक्सन मेनपावर कम्पनीले सो जानकारी गराएको विभागले जनाएको छ ।

यी दुई मेनपावर कम्पनीले हालसम्म अफगानिस्तानबाट ३ सय ३० जना नेपाली कामदारको सकुशल उद्धार भइसकेको जानकारी दिए । मेनपावर कम्पनीले विभागलाई ३ सय ३० जना कामदारलाई उनीहरू कार्यरत सम्बद्ध नियोग र कार्यालयले कतारको राजधानी दोहामा ल्याइसकेको जानकारी दिएको छ ।

विभागले पनि अहिलेसम्म ४ सय ३७ जना नेपाली सम्पर्कमा आएर काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार गर्न जाने विमानको प्रतीक्षामा रहेको जानकारी सम्बन्धित मेनपावर कम्पनीले दिएको बताएको छ ।

विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीले दुईवटा मेनपावरबाट संस्थागत रूपमा अफगानिस्तान पुगेकाहरूको धमाधम उद्धार थालिएको बताए । विभागका अनुसार श्रम स्वीकृति लिएर अफगानिस्तान पुग्नेहरूको संख्या करिब १ हजार ५ सय जना रहेको छ ।

छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट त्यहाँ पुग्नेहरूको संख्यासहित हाल अफगानिस्तानमा कति जना नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन । त्यहाँ कार्यरत नेपाली कामदारहरूको भनाइअनुसार वैधानिक र अवैधानिक रूपमा गरी हाल अफगानिस्तानको विभिन्न ठाउँमा करिब १४ हजार नेपाली नागरिक रहेका छन् । मधुजंग पाण्डेले आजको राजानी दैनिकमा खवर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *