नेपालीको उद्धारमा विदेशी कम्पनी, सरकार अझै अलमलमै

काठमाडौं। अफगानिस्तानमा तालिबानले सत्ता कब्जापछि ५ सय ८ जना नेपालीको उद्धार भएको छ । विदेशी कम्पनी र दूतावासको सहयोगमा उनीहरू नेपाल आइपुगेका हुन् ।

सबैजसो नेपाली नेपाल सरकारको समन्वयमा भन्दा पनि काम गरेको मुलुकको दूतावास र कम्पनीको सहयोगमा नेपाल आएका हुन् । उद्धार भएकाहरूलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको पनि जनाइएको छ । शनिबार टर्किस एयर तथा जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र नौ जना गरी जम्मा ३५ जना स्वदेश फर्किएका छन् ।

यता परराष्ट्र मन्त्रालयले भने उद्धारको पर्खाइमा रहेका नेपालीलाई ल्याउन पहल भइरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले ६ दिनदेखि विभिन्न मित्र राष्ट्र र विदेशी नियोगसँग समन्वय गरेको जनाएको छ ।

अफगानिस्तानमा कति नेपाली उद्धारको पर्खाइमा छन् भन्ने पूरै विवरण अझै आइसकेको छैन । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका अनुसार आइतबार साँझसम्म ३ सय ५६ जना नेपालीहरूले उद्धारका लागि आफ्नो विवरण दर्ता गराएका छन् । ती नेपालीको उद्धार कसरी गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालयले अझै पहल थाल्न सकेको छैन ।

परराष्ट्र मन्त्रालयका अनुसार उद्धारका लागि सूचीकृत भएका मध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्धार भई सुरक्षित गन्तव्यसम्म पुगेकाहरूको विवरण रुजु गर्ने काम भइरहेको आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *