घरकै एकान्तबासमा बालबालिका सुरक्षित

काठमाडौं। बालबालिकामा सामान्य लक्षणसहित कोरोना सङ्क्रमण भएको अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने चिकित्सकको सुझाव छ । स्वास्थ्य अवस्था जटिल भए मात्र अस्पताल जानु उचित हुने सुझाव उनीहरूको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्राडा रवि शाक्यका अनुसार, ‘‘बालबालिकालाई होम आइसोलेसन बस्दा नै सुरक्षित अनुभव हुन्छ । सामान्य लक्षण छ भने अभिभावकको रेखदेखजस्तो अरू कसैको हुँदैन तर स्वास्थ्यमा केही समस्या तथा आफूलाई असजिलो महसुस भयो भने तुरुन्त अस्पताल जानुपर्छ । बालबालिकामा कोरोना सङ्क्रमण भएको खण्डमा घाँटी खराब हुने, नाक बग्ने, खोकी लाग्नेलगायतका समस्या देखिन सक्छ ।’’

उनले भने केही बालबालिकाको पेट पनि खराब हुन सक्छ । यस्ता बालबालिकालाई आइसोलेट गरेर लक्षणका आधारमा उपचार गर्न सकिन्छ । अस्पतालमा धेरै बिरामीको अवस्था देखेर मानसिक तनाव हुने उनको सुझाव छ ।
बालरोग विशेषज्ञ जुन डङ्गोलले लक्षणविनाका बालबालिकालाई अस्पताल ल्याउनु नपर्ने जानकारी दिँदै घरमा नै एकान्तबास बसे राम्रो हुने बताउन्छन् ।

कोही बालबालिका जन्मजात नै मुटुरोगी छन्, लामो समयदेखि फोक्सोको रोगबाट ग्रसित छन्, कुनै अङ्गले राम्रोसँग काम गरेको छैन वा मोटोपनाजस्ता रोगबाट ग्रसित छन् भने चिकित्सकको सल्लाहबमोजिम हेरविचार गर्न सकिने उनले बताए । बच्चामा कोरोना सङ्क्रमण दर बढ्नुका पछाडि भाइरसले रूप परिवर्तन गर्नु नै हो, डा डङ्गोलले भने, ‘‘सङ्क्रमणको पहिलो लहरमा बालबालिकामा सामान्य फ्लुका रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने लक्षण र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।”

अहिले फ्लु र श्वासप्रश्वाससँगै पाचन प्रणालीमा पनि समस्या देखिएको जानकारी दिँदै उनले अरुचि, पेट दुख्ने, पखाला चल्ने, बान्ता आउने, ज्यान दुख्ने, शरीरमा डाबरहरू देखिनेसमेत भएको बताएको आजको गोरखापत्र दैनिकमा यलु जोशीले खवर लेखेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *