USAID

नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित

काठमाडौं। अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व खेलकुदको कुम्भमेला ३२औं गीष्मकालीन ओलम्पिकमा नेपालबाट चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

जलपरी गौरिका सिंह, एलेक्स शाह र सुटिङकी कल्पना परियारले आफ्नो प्रदर्शनमा सुधार गरे पनि अघिल्लो चरण पार गर्न सकेनन् । एथलेटिक्सकी सरस्वती चौधरीले औसतको प्रदर्शन गर्दा जुडोकी सोनिया भट्ट आफ्नो प्रतिद्वन्द्वीसामु टिकेर खेल्न नसक्दा यसपटकको ओलम्पिकमा नेपाल सहभागितामै सीमित बन्यो ।

पहिलो चरण पार गर्नु नै नेपालका लागि चुनौतीको कुरा हो, पदक त अलि पर नै छ । अझ त्योभन्दा अघि छनोट भएर ओलम्पिकमा खेल्न जानु नै चुनौती छ । नेपाल ओलम्पिकमा सहभागिता र व्यक्तिगत प्रदर्शनमा भएको सुधारमै रहिरहेको छ ।

तेक्वान्दोका स्टारद्वय संगिना वैद्य र दीपक विष्टबाहेक हालसम्म झन्डै १ सयको हाराहारीमा ओलम्पियन पुग्दा सबै खेलाडी युनिभर्सियालिटी कोटा र वाइल्ड कार्डको सहारामै ओलम्पिक खेल्दै आएका हुन् । सन् २००४ मा संगिना वैद्य र २००८ मा दीपक विष्टले छनोट भएर ओलम्पिक खेलेका थिए ।

यसपटक युनिभर्सियालिटी प्लेसअन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट सरस्वती चौधरीले ओलम्पिक खेल्ने अवसर पाउँदा वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट ओलम्पिकका लागि छानिएका हुन् । राजधानी दैनिकबाट

CivActsAd

Leave a Reply

Your email address will not be published.