कोरोनाका कारण २८ वटा सिनेमा हल सधैँका लागि बन्द

काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।

हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधैँका लागि बन्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् ।

कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चित देखेर काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिजले सातवटामध्ये चारवटा सिनेमा हल भत्काएको छ । गोपीकृष्ण मुभिजअन्तर्गतको गोपी, कृष्ण, राधा र मिरा गरी चारवटा सिनेमा हल भत्काइएको सो हलका म्यानेजर प्रदीप दाहालले बताएका छन् । हल भत्काएर सो ठाउँमा गोपीकृष्णले यतिबेला गोपीकृष्ण मल निर्माण सुरु गर्दै छ । गोपीकृष्णले अब ओम, नम र शिवाय गरी तीनवटा सिनेमा हल मात्र सञ्चालन गर्ने पनि दाहालले बताएका छन् ।

यस्तै, क्यूएफएक्स सिनेमा कम्पनीले सो समूहका तीनवटा सिनेमा हल बन्द गरेको छ । काठमाडौंको हात्तीसारस्थित जयनेपाल सिनेमा घर र कमलपोखरीस्थित कुमारी सिनेमालाई क्यूएफएक्सले बन्द गरेको हो । जयनेपाल सिनेमा घर नेपालकै अहिलेसम्मको जेठोमध्येको सिनेमा घर पर्छ । कुमारी सिनेमाले पनि चार दशकभन्दा लामो इतिहास बोकिसकेको छ । यसरी लामो इतिहास बोकेका सिनेमा घर कोरोनाको महामारीकै कारण बन्द गर्नुको विकल्प नरहेको क्यूएफएक्स सञ्चालकको भनाइ छ ।

काठमाडौंको बालाजुमा रहेको गंगा चलचित्र मन्दिर पनि कोरोना महामारीकै कारण सधैँका लागि बन्द भएको छ । यो सिनेमा हलमा गंगा ‘क’ र गंगा ‘ख’ गरी दुईवटा फिल्म हल रहेको थियो । यी दुवै हल सधैँका लागि बन्द गर्न बाध्य भएको सो हलका सञ्चालक मदनमान बज्राचार्यले बताएका छन् ।

कोरोना संक्रमणका कारण अनिश्चित भविष्य देखेरै काठमाडौं उपत्यकाका नौवटा सिनेमा हल बन्द गरिएको नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले राजधानीलाई बताएका छन् । प्रधानका अनुसार काठमाडौं उपत्यकाबाहिरका सिनेमा हल पनि कोरोनाको महामारीपछि धमाधम बन्द भएका छन् ।

यसैगरी, मोफसलका १९ वटा सिनेमा हल भत्काइँदै छ । बिर्तामोडको कृष्ण टाँकिज, धुलावारीको तृष्ण हल, मोरङको सुकुना सिनेमा हल, विराटनगरको बाबा चलचित्र मन्दिर, धनकुटाको केटिवी सिनेमा हल, इनरुवाको कमल टाँकिज, जनकपुरको मिलन फिल्म हल र लवकुश फिल्म हल भत्काउन लागिएको हो ।

यस्तै, चितवन टाँडीको नारायणी चलचित्र मन्दिर, नवलपुरको गणपति चलचित्र मन्दिर, बर्दघाटको मोहिनी चलचित्र मन्दिर, कैलालीस्थित पहलवानपुरको सिनेमा हल, दाङस्थित लमहीको सिनेमा हल, तुलसीपुरस्थित बिष्णु टाँकिज, पाल्पाको सन्तोष चलचित्र मन्दिर, बाग्लुङको कालिगण्डकी चलचित्र मन्दिर, नुवाकोटको त्रिशूलीमा रहेको सिनेमा हल र तनहुँको दमौलीमा रहेका उत्तरशिला हल, कुस्माको सिद्धेश्वर हल पनि बन्द भएको अध्यक्ष प्रधानले बताएकाे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *