कर्णालीलाई हराउँदै लुम्बिनी एनपीएलको प्लेअफमा

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)को प्लेअफमा पुगेको छ । बिहीबार राति सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो ।

जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६.४ ओभरमा ६ विकेटको क्षतिमा  १ सय ७ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । लुम्बिनीको लागि डार्सी शर्टले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरे । यस्तै दिलिप नाथले नटआउट २८ रन बनाउँदा निरोशन डिकवेलाले १६ रनको योगदान गरे ।

कर्णालीको लागि मार्क वाटले ४ ओभरमा एक मेडन राख्दै १२ रन दिएर ४ विकेट लिँदा पवन सरार्फ र हुसेन टालटले समान एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको कर्णाली १९.२ ओभरमा १ सय ५ रनमा अलआउट भएको हो । खेलमा खराब शुरुवात गरेको कर्णालीले ४.३ ओभरमा १५ रन जोड्दा ४ विकेट गुमाएको थियो । कर्णालीको लागि सोमपाल कामीले २८, हुसेन टालटले २४, गुलसन झाले १३ र पवन सरार्फले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्न अभिशेष गौतम, किशोर महतो, डार्सी शर्ट र रोहित पौडेलले समान दुई/दुई विकेट लिँदा रुबिन ट्रम्पलम्यान र शेर मल्लले समान एक/एक विकेट लिए ।

जितसँगै लुम्बिनी ६ खेलबाट ९ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलबाट ४ अंक जोडेको कर्णाली सातौँ स्थानमा रहेको छ ।

जितसँगै लुम्बिनीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्दा कर्णालीको दोस्रो चरणमा पुग्ने झिनो सम्भावना रहेको छ । अब कर्णालीले अन्तिम खेलमा चितवन राइनोजको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *