काठमाडौँ सडक डिभिजनको ८० प्रतिशत भौतिक प्रगति हुने अपेक्षा

सञ्चिता घिमिरे, काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा ८० प्रतिशत मात्रै सडक निर्माण गर्ने अनुमान गरेको छ । अहिलेसम्मको प्रगतिका आधारमा अबका पाँच/छ दिन काम गर्न पाएमा सो प्रगति हासिल गर्न सकिन डिभिजनले जनाएको छ ।

चालु आर्थिक वर्षमा कोभिडका कारण काममा बाधा पुगेकाले डिभिजनले लक्ष्यभन्दा कम प्रगति हुने देखिएको छ । विगत दुई महिनामा निर्माण र मर्मत दुवै काममा निषेधाज्ञाका कारण अवरोध पुगेको डिभिजनले जनाएको छ । अहिले मनसुनका कारण कालोपत्र गर्न नसकिरहेको डिभिजन प्रमुख कुवेर नेपालीले बताए । वर्षा भइरहँदा सडक निर्माणको अरू काम गरे पनि कालोपत्र गर्न सकिँदैन । उनले भने, “अझै पनि मौसममा सुधार आए काम गर्न सकिनेछ ।”

डिभिजनले २१ किलोमिटर नियमित मर्मतको लक्ष्य राखेकामा अहिलेसम्म झण्डै १३ किलोमिटर सम्पन्न भएको छ । अहिले गर्नुपर्ने ठाउँमा नै मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि खाल्डो खनिएकाले बाधा पुगेको प्रमुख नेपालीले बताए ।

उनका अनुसार अझै पनि दुई/तीन दिन घाम लागेमा नयाँ निर्माण नसकिए पनि मर्मतको काम गर्न सकिनेछ । त्यस्तै चालु आर्थिक वर्षमा १५ किलोमिटर लक्ष्य लिइएकामा अहिलेसम्म १० किलोमिटर सकिएको उनले बताए । उनले भने, “अहिले पनि मर्मतको काम गर्न सकिने देखिन्छ ।”

विगतका वर्षमा काठमाडौँका मुख्य सडक खाल्डा नै खाल्डा हुने गरेकामा गत आर्थिक वर्षमा मुख्य सडकमा कालोपत्र थप्ने काम (ओभरले) भएको थियो ।

चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा गर्न बाँकी ठाउँमा ‘ओभर ले’ को योजना बनाइएको भए पनि गत वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा समन्वय हुन नसक्दा काम हुन सकेको थिएन । वैशाख र जेठमा एकातिर सङ्क्रमितको सङ्ख्या उच्च हुनु र अर्कातिर प्रशासनबाट आवश्यक समन्वयको कमीका कारण निर्माण अघि बढ्न सकेको थिएन ।

डिभिजनले चालु आर्थिक वर्षमा मुख्य सडकमा पैदलयात्रु मार्ग निर्माणलाई अघि बढाइरहेको छ । हेर्दा सुन्दर पैदलयात्रु मार्ग अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका सबैलाई हिँड्न सजिलो हुने किसिमको छ । डिभिजनले चालु आर्थिक वर्षमा नयाँ सडकको निर्माण मुख्य शहरी क्षेत्रभन्दा पनि चक्रपथ बाहिरका क्षेत्रमा निर्माण गरिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *