स्वीजरल्यान्डको पहिलो जित, टर्की बाहिरियो

प्रज्जवल थापा । स्वीजरल्यान्डले युरोकप २०२०मा पहिलो जित निकाल्दा टर्की भने समूहचरणबाटै बाहिरिएको छ । गएराति भएको समूह ‘ए’को खेलमा स्वील्यान्डसँग ३–१ गोलले पराजित भएसँगै टर्की लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

स्वीजरल्यान्डलाई जित दिलाउन जेर्दान शाकिरीले दुई गोल गर्दा हरिस सेफेरोभिकले एक गोल थपे । टर्कीको लागि इफ्रान काह्वेसीले गरेको गोल सान्तवना गोलमा सिमित रह्यो । पहिलो हाफको छैटौं मिनेटमा स्टेभेन जुबेरको पासमा सेफेरोभिकले गोल गर्दै स्वीजरल्यान्डलाई शुरुवाती अग्रता दिलाएका थिए ।

२६ औं मिनेटमा जुबेरकै पासमा शाकिरीले गोल गर्दै स्वीजरल्यान्डको अग्रता दोब्बर बनाए । ६२ औं मिनेटमा काल्हानोग्लुको पासमा काह्वेसीले गोल गर्दै टर्कीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६८ औं मिनेटमा जुबेरकै पासमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्वीजरल्यान्डलाई ३–१ गोलको शानदार जित दिलाए ।

जितसँगै स्वीजरल्यान्ड ३ खेलबाट ४ अङ्क जोड्दै समूहको तेस्रो स्थानमा रहेको छ । अन्तिम १६ प्रवेशको लागि स्वीजरल्यान्डलाई अन्य समूहको नतिजा कुर्नुपर्नेछ । यता अङ्कविहिन रहँदै समूहको पुछारमा रहेको टर्की भने प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट इटाली र वेल्स अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *