काठमाडौँ । प्रसिद्ध बौद्ध भिक्षुणी तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले उनलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार, लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम उनलाई सो पदमा मनोनीत गरिएको हो । ऐनअनुसार उपाध्यक्षको पदावधि पाँच वर्षको हुनेछ ।
लुम्बिनी विकास कोष पदाधिकारीसम्बन्धी विनियमावली, २०५८ अनुसार उपाध्यक्ष नै कोषको प्रमुख प्रशासकीय पदाधिकारीसमेत हुने व्यवस्था छ । लामो समयदेखि रिक्त रहेको यो महत्त्वपूर्ण पदमा नयाँ नियुक्ति भएसँगै लुम्बिनी क्षेत्रको समग्र विकास, चुस्त व्यवस्थापन तथा प्रशासनिक कार्यले गति लिने अपेक्षा गरिएको छ ।
गुम्बाको यात्रादेखि ‘सिङ्गिङ नन’को अन्तर्राष्ट्रिय पहिचानसम्म
सन् १९७० मा काठमाडौँमा जन्मिएकी आनी छोइङ डोल्मा १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन् । बौद्ध धर्मका महान् गुरु टुल्कु उर्गेन रिन्पोछेको मार्गदर्शनमा बौद्ध मन्त्र र धार्मिक संगीतको गहिरो अध्ययन गरेकी उनी पछि आफ्नै विशिष्ट गायन शैलीमार्फत अन्तर्राष्ट्रिय मञ्चहरूमा स्थापित भइन् ।
बौद्ध भजन तथा पवित्र मन्त्रहरूलाई आधुनिक संगीतको सुमधुर सम्मिश्रणसहित विश्वभर पुर्याएकी उनलाई संसारभर ‘सिङ्गिङ नन’ अर्थात् गायिका भिक्षुणीका रूपमा सम्मानका साथ चिनिन्छ । उनको जीवनमा आधारित आत्मकथा ‘सिङ्गिङ फर फ्रिडम’ संसारका विभिन्न भाषाहरूमा अनुवाद भई बहुचर्चित बनेको छ ।
सामाजिक र मानवीय सेवामा समर्पित जीवन
संगीतसँगै आनी छोइङ डोल्मा शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा समेत उत्तिकै सक्रिय र अग्रणी छिन् । विशेषगरी भिक्षुणीहरूको गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सहयोग पुर्याउने पवित्र उद्देश्यले उनले ‘नन्स वेलफेयर फाउन्डेसन’ तथा ‘आर्य तारा स्कुल’को स्थापना गरेकी छन् ।
यस्तै, आफ्नी स्वर्गीय आमाको स्मृतिमा ‘आरोग्य फाउन्डेसन’ स्थापना गरी उनले देशका विपन्न मिर्गौला रोगीहरूलाई उपचार सेवामा निरन्तर ठूलो सहयोग पुर्याउँदै आएकी छन् ।
बालबालिकाको स्वास्थ्य रक्षा, महिला सशक्तीकरण तथा मुलुकमा आइपर्ने विभिन्न प्राकृतिक विपद्मा परेकाहरूलाई उद्धार र राहत दिने अभियानमा पनि उनको ठूलो संलग्नता रहँदै आएको छ । अतुलनीय सामाजिक सेवा र योगदानका लागि उनले दर्जनौँ प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू समेत प्राप्त गरिसकेकी छन् ।
लुम्बिनी विकास कोषको मुख्य दायित्व
भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको संरक्षण, सम्वर्द्धन, विकास र प्रवर्द्धनका लागि नेपाल सरकारले सन् १९८५ मा लुम्बिनी विकास कोषको स्थापना गरेको हो।
सन् १९७८ मा जापानी वास्तुकार केन्जो टाँगेद्वारा तयार पारिएको विश्वप्रसिद्ध गुरुयोजनाअनुसार लुम्बिनी क्षेत्रको विकास तथा व्यवस्थापन गर्दै आएको यस कोषको कार्यक्षेत्र लुम्बिनी उद्यान (लुम्बिनी गार्डेन) मा मात्र सीमित छैन। बुद्धसँग गहिरो सम्बन्ध राख्ने ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरू तिलौराकोट (कपिलवस्तु), देवदह र रामग्राम (नवलपरासी) लगायतको खोज, संरक्षण र प्रवर्द्धन गर्ने प्रमुख जिम्मेवारी पनि यसै कोषको कार्यक्षेत्रभित्र पर्दछ। युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई विश्वकै सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थल तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्नु कोषको प्रमुख उद्देश्य हो।
