इटाली युरोकपको अन्तिम १६ मा

प्रज्जवल थापा । इटाली युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीजरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटाली अन्तिम १६ पुग्ने पहिलो टोली बनेको हो ।

स्टेडियो ओलम्पिकोमा भएको खेलमा इटालीलाई जित दिलाउन मानुयल लोकाटेलीले दुई गोल गर्दा किरो इमोबिलले एक गोल गरे । पहिलो हाफको १९ औं मिनेटमा जिओर्जिन्हो चिलेनीको गोल भिएआरले हटाउदा इटालीले अग्रता लिने मौका गुमाएको थियो । तर १० मिनेट बित्न नपाउँदै बेरार्डीको पासमा लोकाटेलीले गोल गर्दै इटालीलाई खेलमा अगाडि बढाए ।

५२ औं मिनेटमा निकोलो बारेल्लाको पासमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई सहज स्थितिमा पुर्याए । खेल सकिनु एक मिनेटमा अगाडि राफायल टोलोलीको पासमा इमोबिलले गोल गर्दै इटालीलाई ३–० गोलको शानदार जित दिलाए ।

जितसँगै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरिसकेको इटाली २ खेलबाट ६ अङ्क जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ । अन्तिम खेलमा वेल्सलाई बराबरीमा रोके इटाली शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *