प्रज्जवल थापा । तीन पटकको च्याम्पियन स्पेन युरोकप २०२० को आफ्नो पहिलो खेलमा बराबरीमा रोकिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा स्पेन स्वेडेनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
एकपक्षीय खेलको पूरा समय आफ्नो पकडमा राखेपनि फिनिसिङमा चुक्दा स्पेन बराबरीमा रोकिन बाध्य भयो । पहिलो हाफको १६ औं मिनेटमा ओल्मोको हेडर विपक्षी गोलरक्षक ओल्सेनले बचाउदा स्पेनले शुरुवाती अग्रता लिने मौका गुमाएको थियो । २९ औं मिनेटमा कोकेको प्रहार आकासिदा स्पेन थप निराश भयो । ३८ औं मिनेटमा मोराटाले गोलकिपरसँग वान भर्सेस वास भएको अवस्थामा गोल गर्न सकेनन् ।
४१ औं मिनेटमा इसाकको प्रहारलाई लोरेन्टेले क्लियर गर्न खोज्दा पोस्टमा ठोक्केर फर्किदा स्वेडेनले अग्रता लिने मौका गुमायो । ६१ औं मिनेटमा इसाकको पासमा बेर्गले पोस्ट नजिकैबाट गोल गर्न सकेनन् । ७३ औं मिनेटमा ओल्मोको प्रहारलाई डनियल्सनले बचाउदा स्पेनले गोल गर्ने मौका गुमायो । खेलको अन्तिम मिनेटमा जेराड मोरेनोको प्रहारलाई ओल्सेनले उत्कृष्ट बचाउ गर्दा स्पेन बराबरीमा रोकिन बाध्य भयो ।
बराबरीसँगै दुवै टोलीले एक/एक अङ्क बाढेका छन् । समूहकै अर्को खेलमा स्लोभाकियाले पोल्यान्डलाई २-१ गोलले पराजित गर्यो ।
