काठमाडौंका ७५ प्रहरी पोस्ट कार्यालय अझै टहरामा

काठमाडाैँ । १२ वैशाख ०७२ को भूकम्पले हनुमानढोकास्थित भवन क्षतिग्रस्त भएपछि महानगरीय प्रहरी परिसर ६ वर्षदेखि टेकुस्थित नेसनल ट्रेडिङको परिसरमा छ । आधा जनशक्ति नेसनल ट्रेडिङको भवनमा अटेको छ, आधा खुला चौरमा टेन्ट टाँगेर बसेको छ । भ्रदकालीमा निर्माणाधीन भवन अहिलेसम्म ३० प्रतिशत मात्रै पूरा भएको छ ।

वर्षा आयो कि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी तर्सिन्छन् । विष्णुमती खोलातर्फबाट ढल उर्लेर आउँछ, छेक्ने कसरी ? प्रहरीको वास नै टेन्टमा छ । हो, भूकम्पका वेला चीन सरकारले राहतमा टेन्ट दिएको थियो, त्यही टेन्टको भरमा छ महागरीय प्रहरी कार्यालय टेकु । महानगरीय प्रहरीको मुख्य कार्यालय नै यही हालतमा छ भने अन्य प्रहरी कार्यालयको हालत के होला ? हो राजधानीकै ७५ प्रहरी पोस्ट टेन्ट र जस्ताको टहरामा छन् ।

१२ वैशाख ०७२ को भूकम्पले हनुमानढोकास्थित भवन क्षतिग्रस्त भएपछि महानगरीय प्रहरी परिसर ६ वर्षदेखि भवनविहीन छ । अहिले टेकुस्थित नेसनल ट्रेडिङ भएकै परिसरमा शरणमा छ । प्रहरी परिसरको आधा जनशक्ति नेसनल ट्रेडिङको भवनमा अटेको छ, आधा भने खुला चौरमा टेन्ट टाँगेर बसेको छ । डम्पिङसाइटछेउबाटै बग्ने ढल उर्लिएर प्रहरीलाई तर्साउँछ ।

‘प्लास्टिकको झुत्रा, मलमूत्र र कालो लेदोले जब नाली भरिन्छ, तब मानव मलमूत्रसहितको भेल टेन्टभित्र पनि पस्छ । ढल परिसरको प्रतीक्षालय हुँदै क्यान्टिनसम्म पुग्छ । त्यसपछि परिसर कार्यालयमा आवागमन नै प्रभावित बन्न पुग्छ । यस्तो वेला दुर्गन्धित ढल रोक्न परिसरमा कार्यालय प्रहरी कर्मचारीले निकै कष्ट झेल्नुपर्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेत भन्छन् ।

खासमा परिसर कार्यालयबाट बीच भाग हुँदै ढल बग्ने भएकाले समस्या भएको बस्नेतको भनाइ छ । ‘परिसरको बीचबाट नै ढल बगिरहेको छ । ठूलो पानी पर्दा ढल स्वतः ठूलो हुन्छ । अझ विष्णुमतीतर्फ जाने ढल कार्यालयतर्फ पो आउँछ । ढल भित्र आएपछि दुर्गन्धले बसिनसक्नु हुन्छ,’ उनी भन्छन् ।

परिसर कार्यालयको पछिल्लो भागमा छ, थुनुवा कक्ष । ढल बढेर कहिले त थुनुवा कक्ष जाने बाटो नै रोकिन पुग्छ । यस्तो वेला थुनुवाको सुरक्षा कसरी गर्ने ? ‘ढल बढेर कहिले त माथिसम्म आउँछ, जति छेक्दा पनि सकिन्न । यस्तो वेला थुनुवा कक्षको सुरक्षा गर्न निकै मुस्किल पर्छ । यही मौकामा थुनुवा भाग्यो या कसैले थुनुवामाथि केही गर्‍यो भने के होला ?’ थुनुवा कक्षमा भेटिएका एक हवल्दार प्रतिप्रश्न गर्छन् ।

महानगरीय प्रहरी वृत्त भने आफ्नै कार्यालयमा छन् । १४ वटा प्रहरी वृत्तमातहत ७५ प्रहरी पोस्ट छ, तर कुनै पनि पोस्टको भवन छैन । धेरैजसो पोस्ट टहरामा छन् । । पालमुनिका पोस्टमा प्रहरी सुत्ने खाट र सेवाग्राही बस्ने कुर्सी हुन्छन् । यस्तै पोस्टमा रातदिन, हिउँद–बर्खा धान्छन् प्रहरी ।

हरेक पोस्टमा हवल्दारको नेतृत्वमा ६ प्रहरी हुन्छन् । पोस्टमा न हतियार राख्ने ठाउँ छ, न सेवाग्राहीसँग छलफल गर्ने कक्ष नै । ठमेल, इन्द्रचोक, सुन्धारा, असन, टेबाहाल, भोटेबहालजस्ता घना सहरी क्षेत्रको सुरक्षा जिम्मा पाएको प्रहरी पोस्टको हालत अझ खराब छन् । किनकि ती क्षेत्रको सुरक्षा जिम्मा पाएको प्रहरी पोस्टका सबै कार्यालय साँघुरा टहराभित्र रहेकाे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *