धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले १ हजार २४० किलो ६ सय ग्राम लागूऔषध गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जाँच टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई रोक्न खोजेको थियो।
तर, प्रहरीको जाँच गर्न खोजेपछि ट्रक चालक ट्रकबाट हाम फालेर फरार भएका थिए। चालक फरार भएपछि ट्रक शंकास्पद लागेर प्रहरीले जाँच गर्दा ट्रकभित्र लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको हो।
प्रहरीका अनुसार बरामद गाँजाको तौल १ हजार २४० किलो ६ सय ग्राम रहेको छ। फरार चालकको खोजी भइरहेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
