तीन प्रदेशमा फैलियो मनसुन, मङ्गलबारसम्म देशव्यापी हुने

काठमाडौं । प्रदेश नम्बर १, प्रदेश २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा मनसुन भित्रिएको जानकारी दिए । पौडेलका अनुसार यो देशव्यापी हुन भने अझै दुईदेखि तीन दिन लाग्नेछ ।

मौसमविद्हरूले आगामी साता मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको प्रक्षेपण गरेका छन् । केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए ।

अबका केही दिन मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस वर्ष नेपालमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । साधारणतया अङ्ग्रेजी महिनाको जुन १३ देखि सेप्टेम्बरसम्मको चार महिनालाई नेपालसहित दक्षिण एशियाली क्षेत्रको मनसुन अवधि मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *