भारतले ज्यादती गरिरहँदा नेपाल सरकार किन मौन ?

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले भारतले दार्चुला जिल्लामा नेपालको भूभाग अतिक्रमण गरी सडक बनाउने काम जारी राख्दै गर्दा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार सामाजिक संजालमार्फत रावलले भारतले सडक निर्माणका क्रममा गरिएको विष्फोटबाट व्यास गाउँपालिकामा घोडेटो बाटो क्षतिग्रस्त भएको समाचार हुँदासमेत नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘भारतले दार्चुला जिल्लामा नेपालको भूभाग अतिक्रमण गरी सडक बनाउने काम जारी राखेको छ । यही क्रममा गरिएको विष्फोटबाट व्यास गाउँपालिकामा घोडेटो बाटो क्षतिग्रस्त भएको समाचार छ । प्रधानमन्त्री केपी र सरकार किन चुप ? कि देश र जनताको रक्षा गर्ने प्रमुख दायित्वबाट प्रधानमन्त्री र सरकार च्यूत भइसकेका हुन् ?’

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतले सडक गर्ने क्रममा नेपालतर्फको बाटोमा पूर्ण क्षति भएको र सशस्त्र प्रहरीले त्यसको वैकल्पिक बाटो खोलेको छ । मंगलबार भारतीय पक्षले धारचुला–लिपुलेक सडक विस्तार गर्ने क्रममा पहाड काट्नको लागि बम विस्फोट गराएको थियो । विस्फोटपछि पहिरो खस्दा महाकाली नदीसमेत थुनिएको थियो ।

थुनिएपछि नदीले महाकाली किनार हुँदै दुम्लिङ जाने बाटोमा क्षति पुर्याएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिएका छन् । यसबारेमा जिल्ला प्रशासन कार्यालयले भारतीय पक्ष र गृह मन्त्रालयलाई पत्र लेखेर जानकारी गराइसकेको जनाएको छ ।

गतवर्ष भारत सरकारले सो सडक उद्घाटन गरेको थियो । त्यसपछि नेपाल सरकारले संविधान संशोधन गर्दै अतिक्रमित जग्गा आफ्नो नक्सामा समेटेको थियो । त्यसबाहेक नेपाल सरकारबाट भूमि फिर्ता लिने विषयमा कुनै पहल भएको छैन । तर भारतले भने सडक निर्माणलाई निरन्तरता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *