सामाजिक सञ्जालबाट चरित्र हत्या र रकम ‘बार्गेनिङ’ गर्ने अपराधीकाे संख्या बढ्दाे

काठमाडाैँ । सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार ! यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धनसम्पत्ति पनि गुम्ला नि ।

विशेषगरी सामाजिक सञ्जालबाट सम्पर्कमा आएका व्यक्तिसँगको अन्तरङ्ग तथा अश्लील संवाद, तस्बिर र भिडियो म्युटिलेट तथा फोटोसप गरी फेसबुक, म्यासेन्जर, टिकटक र युट्युबमार्फत चरित्र हत्या र रकम ‘बार्गेनिङ’को समस्या बढेको छ ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार केही समययता अपरिचित व्यक्तिले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाई बारम्बार भिडियो संवाद गर्ने र प्रेम प्रस्ताव राखी आफैँले अश्लील क्रियाकलाप देखाई सम्बन्धित पुरुष वा महिलालाई उक्साउँछन् ।

एकआपसमा साटासाट गरिएका अश्लील तस्बिर तथा कुराकानी रेकर्ड गरेपछि साइबर अपराधमा फसाइदिन्छु, सामाजिक सञ्जालमा राखिदिने र पारिवारिक सम्बन्ध टुटाइदिनेसम्मको धम्की दिने गरेको पाइएको छ ।

साइबरविज्ञ वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्याल कोरोना बन्दाबन्दीको मौकाछोपी अश्लील क्रियाकलाप गर्न उक्साएर भिडियो बनाउने, तस्बिर साटासाट गर्ने, फोटोसप तथा म्युटिलेट भिडियो सामाजिक सञ्जालमा राखी चरित्र हत्यासँगै रकम बार्गेनिङको समस्या बढेको बताउँछन् ।

“साइबर अपराधको शिकार हुनबाट जोगिन सर्वसाधारणका लागि पटक–पटक सार्वजनिक जनचेतना गरिँदै आएको छ । तर पनि कतिपयले सामाजिक सञ्जालबाट प्राप्त हुने सूचना सामग्री र प्रस्तावप्रति पूर्ण विश्वास गर्ने भएकाले चरित्र हत्या र ठगी अपराध मौलाएको छ,” उनले भने ।

साइबर अपराधसँग सम्बन्धित दैनिक १८ देखि २७ वटासम्म उजुरी आउने गर्छन् । ब्युरो प्रहरीका अनुसार तीमध्ये एक दर्जन चरित्र हत्या र ठगीका छन् । अश्लील भिडियो र तस्बिर देखाएर नगद बार्गेनिङ कोरोनापछि देखा परेको नयाँ किसिमको अपराध हो ।

यस्ता व्यक्तिले फेक आईडी (नक्कली पहिचान) बाट सम्बन्ध विस्तार गर्छन् । भिडियो संवादका क्रममा आफैँबाट अश्लील शब्द र तस्बिर आदान–प्रदान गर्न उक्साउँछन् । विस्तारै आफ्नो संवाद र तस्बिर मेटाई पीडितकै अश्लील तस्बिर र भिडियो देखाई उल्टै बार्गेनिङ सुरु गर्छन् ।

कतिपय पीडितले अपराध लुकाउने र समयमै उजुरी नगर्ने भएकाले पक्राउ गर्न समस्या देखिएको हो । ब्युरो प्रहरीले मुलुकभित्रै रहेका अपराधीलाई पक्राउ गरे पनि मुलुकबाहिर रहनेलाई पक्राउ गर्न सकेको छैन ।

साइबर अपराध अनुसन्धानकर्ता प्रहरी उपरीक्षक पशुपति रायले भने, “ठूलाबडा र इज्जतदार हुँ भन्नेले उजुरी नै गर्दैनन् । कतिपय सात समुन्द्र पारिका हुन्छन्, पक्राउ गर्न नै समस्या हुन्छ ।” साइबर अपराधबाट जोगिन सर्वसाधारण नै सचेत हुनुपर्ने सुझाव उनको रहेकाे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *