एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका पुर्व स्ट्राइकर सेर्जियो अग्वेरोलाई क्लबमा भित्र्याएको छ । बार्सिलोनाले अग्वेरोलाई फ्रि- ट्रान्सफरमा भित्र्याएको हो ।
३२ वर्षिय अर्जेन्टिनी स्ट्राइकर अग्वेरोले बार्सिलोनासँग २ वर्षको सम्झौता गरेका छन् । यस्तै सम्झौतामा रिलिज क्लज १ सय मिलियन युरो राखिएको छ । शनिबार भएको च्याम्पियन्स लिग फाइनल खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएसँगै अग्वेरो बार्सिलोना हाकिएका थिए । अग्वेरोले बार्सिलोनासँग सम्झौता गर्नु पुर्व सोमबार बिहान मेडिकल पूरा गरेका हुन् ।
पछिल्लो दुई सिजनमा अग्वरो लगातार चोटको सिकार भएपनि अध्यक्ष लापोर्टाले उनीमाथि विश्वास गर्दै क्लबमा भित्र्याएका हुन् । यस सिजन मात्र २० खेल खेलेका अग्वेरोले ६ गोल गरेका छन् ।
१० वर्ष सिटीमा बिताएका अग्वेरोले ५ घरेलु लिग, ३ काराबाओ कप, तीन कमिनिटी सिल्ड, र १ एफए कप सहित १५ उपाधि जितेका थिए । अग्वेरो म्यानचेस्टर सिटीका सार्वधिक गोलकर्तापनि हुन् । उनले ३ सय ९० खेल खेल्दै २ सय ६० गोल गरेका थिए ।
