बजेट सुनाउनका लागि मात्र नभई कार्यान्वयन गर्नका लागि ल्याइएको होः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्यन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेल कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ बजेट आएको स्पष्ट पारेका हुन् ।

उनले यो बजेट केबल सुनाउनका लागि मात्र नभई कार्यान्वयन गर्नका लागि ल्याइएको बताए । उनले बजेट कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित गरिएको र कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्ने बताए ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको दाबी गरे ।

आर्थिक क्षेत्रमा देखिएका चुनौतिको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै सम्मृद्धिको सपना साकार पार्ने प्रतिवद्धता पनि उनले जनाए । उनले भने, ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन ।’

उनले सरकारले निर्वाचनका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने बताए ।

सरकारले महामारी नबिर्सिएको र मुख्य चुनौतिको रुपमा स्वीकार गरेर सोही अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको बताए । सरकारले प्रभावकारी पहलकदमीको साथमा नेपाली जनतालाई समयमै खोप उपलब्ध गरायो भनेर समाचार र सम्पादकीय लेख्ने ढंगले सरकारले काम गर्ने प्रतिवद्धता जनाए ।

उनले खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको स्पष्ट पारे । उनले सरकारले मतदाता प्रभावित पार्न नभई अभिभारा पूरा गर्न बजेट ल्याएको बताए ।

संवैधानिक प्रक्रियालाई ओभरटेक गरेर सरकार सत्तामा नआएको र प्राप्त भएको जनादेश खण्डित पनि नभएको भन्दै उनले चुनावपछि पनि जनताको विश्वास जित्ने अधिकार अन्य दललाई जस्तै सत्तारुढ दललाई पनि रहेको बताए ।

कतिपयले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै उनले संविधानले गरेको प्रबन्ध अनुसार नै बजेट ल्याएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *