आजदेखि निषेधाज्ञामा कडाइः उल्लङ्घन गरे एक वर्ष कैद, पाँच लाख जरिवाना

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो ।

निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुनसक्ने बताए ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण राेकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत तथा व्यवस्थितरूपमा सञ्चालन गर्न कानुनी व्यवस्था जारी भइसकेकाले तत्काल कार्यान्वयन गर्ने निर्णय भएको जानकारी उनले दिए । सो कानुन (अध्यादेश)अनुसार कसैले कुनै काम गर्न बाधा अवराेध गरेमा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।

अध्यादेश बमोजिमको मापदण्ड पालना नगरेमा छ महिना कैद, तीन लाख रुपियाँ जरि वाना वा दुवै सजाय हुन सक्ने जनाइएको छ । त्यस्तै यो अध्यादेशबमोजिम दिएको आदेशको उल्लङ्घन भएमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले व्यक्तिलाई एक लाख र संस्थालाई पाँच लाख तत्कालै जरिवाना गराउन सक्ने समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *