कोरोना नियन्त्रणमा जुटे म्याग्दीका स्थानीय तह

म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा सङ्केतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता प्रशंसनीय एवं प्रभावकारी देखिएको छ ।

गाउँगाउँमा कोरोना फैलिएपछि जिल्लाका सबै स्थानीय तहले समुदायस्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा सङ्क्रमतिसँग भेटघाट गर्ने, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने गरेका छन् ।

कोरोनाको पहिलो लहरमा रोकथाम, नियन्त्रण र उपचारभन्दा बढी प्राथमिकता खाद्यान्न वितरणमा व्यस्त भएका जनप्रतिनिधिले दोस्रो लहरमा उपचार र रोकथाममै बढी ध्यान केन्द्रित गरेका छन् । बेनी नगरपालिकाले वडास्तरमै पुगेर स्वाब सङ्कलन गरिरहेको छ भने बिरामीको उपचारमा नगरप्रमुखले दिएको दुई निजी सवारी साधन, भाडामा र नगरपालिकाको स्वामित्वमा रहेको सवारी साधनसमेत प्रयोग गरेको छ ।

सदरमुकाम बेनीबजार रहेको वडा नं ७ र ८ बाहेक सबै वडामै पुगेर स्वाब सङ्कलनलाई नगरपालिकाले प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । कोरोनाको सबैभन्दा बढी सङ्क्रमित नगरपालिकाभित्रै भेटिएपछि यसपटक नगरपालिका समुदायस्तरमै विभिन्न माध्यमबाट पुगेको उनको भनाइ छ ।

होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई भेट्न वडास्तरमा स्वास्थ्यकर्मीसहितको टोली समेत परिचालन गरिएको छ । नगरपालिकाले बेनी अस्पताललमा आइसोलेशन कक्ष बनाउन करिब ७ लाख रुपैयाँ सहयोग गरेकाले होम आइसोलेशनमा सिकिस्त भएका सङ्क्रमतिलाई अस्पतालमा भर्ना गरी उपचारको व्यवस्था मिलाइएको छ ।

उता पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाले वडास्तरमा स्वाब सङ्कलन, नियमित अनुगमन तथा कोरोनाको लक्षण देखिएकालाई निःशुल्क एम्बुलेन्स सेवा, सङ्क्रमितको अवस्था बुझ्न स्वास्थ्यकर्मीसहितको टोली घरघरमा पुग्ने गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिए ।

त्यसैगरी मालिका गाउँपालिकाले समेत संस्थागत आइसोलेशन, स्वाब सङ्कलन तथा सङ्क्रमणबाट समुदायलाई जोगाउन आवश्यक विभिन्न गतिविधिहरु गरिरहेको छ ।

हरेक वडाका सङ्क्रमितको अवस्था बुझ्न र जनस्वास्थ्यका मापदण्डको पालनामा ध्यान दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । “कोरोनाका लक्षण देखिएका बिरामीको उपचारका लागि समुदायस्तरबाट सहयोग जुटेको छ भने जनप्रतिनिधिसमेत निरन्तर खटिनुभएको छ”, उनले भने ।

त्यस्तै धवलागिरि गाउँपालिकाले सङ्क्रमण फैलिएको बस्तीमा कोरोना परीक्षणको दायरालाई फराकिलो पारेको छ । सबैभन्दा जोखिम रहेको वडा नम्बर २ लुलाङमा पटकपटक कोरोना अस्थायी अस्पतालका चिकित्सकसहित जनप्रतिनिधिको टोली पुगेको छ । त्यस्तै अन्य वडामा समेत लक्षण देखिनेबित्तिकै स्बाब सङ्कलन र एन्टिजेन परीक्षण गरिरहेको गाउँपालिकाले जनाएको छ ।

रघुगङ्गा गाउँपालिकाले बस्तीमै पुगेर कोरोना परीक्षणसहित सङ्क्रमितलाई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा राखेर उपचार गरिरहेको छ ।

रघुगङ्गामा सङ्क्रमितको शरीरमा आवश्यक अक्सिजनको अभाव हुन नदिन गाउँपालिकाको आफ्नै र रघुगङ्गा जलविद्युत् आयोजनामार्फत व्यवस्थापन गरी ४० सिलिण्डर तयारी अवस्थामा राखेको छ । त्यस्तै गाउँपालिकाभित्रका सबै वडामा पुगेर सङ्क्रमितको अवस्था बुझ्ने र निःशुल्क औषधि वितरणलाई समेत जोड दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताएका छन् ।

“हरेक सङ्क्रमितसँग स्वास्थ्यकर्मीको नियमित सम्पर्क छ, समुदायस्तरमै पुगेर धेरै काम भएका छन्, समुदायले सङ्क्रमितलाई निःशुल्क भोजनको व्यवस्थापन मिलाएकाले धेरै सहज भएको छ”, सुवेदीले भने ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाले अस्थायी कोरोना अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाएको छ भने सङ्क्रमितको पहिचान, उपचार तथा मृत्यु भएमा शव व्यवस्थापनलाई गाउँपालिकाले व्यवस्थित बनाएको छ ।

कोरोनाको अस्थायी अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकमार्फत बेनी अस्पतालमा समन्वय गर्ने तथा शङ्कास्पद बिरामीलाई तत्कालै स्वाब सङ्कलन गरी घरमा अन्य सदस्यभन्दा अलग्गै बस्न स्वास्थ्यकर्मीको टोली जनप्रतिनिधिसँगै पुग्ने गरेका छन् ।

कोरोनाको पहिलो लहरमा गत वर्ष राहतमा खर्च भए पनि यस वर्ष कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले समेत सङ्क्रमण फैलिन नदिन र सङ्क्रमतिको उपचारमै केन्द्रित हुन स्थानीय तहलाई अनुरोध गरेको थियो ।

यस वर्ष स्थानीय तहको सक्रियताकै कारण पिसिआरका लागि स्वाब सङ्कलन, सङ्क्रमितलाई आइसोलेशन र अस्पतालमै पुर्याउने तथा कन्ट्याक्ट ट्रेसिङमा परेकालाई समेत होम आइसोलेशनमा राख्नका लागि टोलबासीसँग समन्वयकारी भूमिकाले सहज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

यसपटक स्थानीय तहको तयारी लोभलाग्दो रहेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रजिअ गणेशबहादुर अधिकारीले बताए । उनले सङ्क्रमितको ट्रेसिङ, परीक्षण र उपचारमा स्थानीय तहको सक्रियताबाट आफू उत्साहित रहेको बताए ।

“कतै कमीकमजोरी भए तत्काल सुधारका लागि अनुरोध गर्ने गरेका छौँ, जनप्रतिनिधि कोभिड नियन्त्रणमै होमिनुभएको छ”, प्रजिअ अधिकारीले भने ।

विभिन्न जिल्लाबाट सदरमुकाम बेनी प्रवेश गर्नेलाई लक्षित गरी तयार गरिएको होल्डिङ सेन्टरबाट स्थानीय तहमा पुगेकालाई समेत निगरानीमा यसपटक धेरै चासो दिइएको छ ।

म्याग्दीका स्थानीय तहले स्वाब सङ्कलनलाई तीव्रता दिएकाले समेत गण्डकी प्रदेशमा धेरै स्वाब सङ्कलन हुने जिल्लाभित्र समेत म्याग्दी पर्ने गरेको छ । म्याग्दीमा शनिबार साँझसम्म एक हजार ३०१ कोरोना सङ्क्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *