उद्योग परिसरबाटै सेना, सुरक्षाकर्मीले जफत गर्न थालेपछि हराउँदै अक्सिजन सिलिन्डर

काठमाडौँ । अक्सिजन सिलिन्डर हराउन थालेका छन् । अव्यवस्थित वितरण प्रणालीका कारण ठूलो संख्यामा सिलिन्डर हराइरहेको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ ।

संघका अनुसार अक्सिजन सिलिन्डर प्रयोग गर्न अस्पतालदेखि सर्वसाधारणसम्मले सिलिन्डर बापत धरौटी रकम जम्मा गरेका छैनन् ।

उद्योग परिसरबाट व्यक्तिगतरुपमा सर्वसाधारणका साथै सुरक्षाकर्मी, अस्पताल, विभिन्न संस्था र अन्य सरोकारवाला निकायले धरौटी र भाग बेगर सिलिन्डर लगेका छन् ।

उद्योगबाट एउटा अस्पतालका लागि निस्केको सिलिन्डरको गाडीबीच बाटो र उद्योग परिसरबाटै सेना तथा सुरक्षाकर्मीले जफत गरी विभिन्न स्थानमा पुर्याएका कारण अधिकांश उद्योगको सिलिन्डर हराइरहेको उद्योगीहरुले बताएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

विराटनगरमा जफत गरी काठमाडौँ पठाउने, वीरगन्जमा जफत गरी विराटनगर पठाउने प्रक्रियाले पनि सिलिण्डर हराएको र त्यसबापत पाउनुपर्ने भुक्तानी पनि उद्योगले नपाएको संघले जनाएको छ ।

‘यसरी विभिन्न स्थानमा पुर्याइएको फिर्ता नल्याइएका कारण उद्योगमै सिलिण्डरको चर्काे अभाव भएको छ,’ संघका अध्यक्ष गौरव शारदले भने, ‘काठमाडौँकै ८ वटा उद्योगको झण्डै ५० देखि ६० प्रतिशत सिलिण्डर कहाँकहाँ पुर्याइएको छ, त्यो बारेमा हामीले पत्ता लगाउन सकेका छैनौँ । यसले गर्दा नियमितरुपमा रोटेशनमा अक्सिजन सिलिण्डर पनि अति आवश्यक स्थानमा वितरण गर्न कठिनाइ भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *