USAID

९१ वर्षीया उपमेयर कार्कीले जितिन् काेरोना


वीरगन्ज । वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले कोरोनालाई जितेर डिष्चार्ज भएकी छन् । उनले ९१ वर्षकाे उमेरमा कोरोना जितेकी हुन् ।

नियमित योग, ध्यान र शारिरिक व्यायाम गर्दै आएकी उपप्रमुख कार्कीले दरिलो आत्मविश्वास र आँट भए कोरोनालाई जित्न सकिन्छ भन्ने सन्देश दिएकी छन् । ‘बढि उमेरकालाई कोरोना लागेपछि बाचिन्न भन्ने कुरालाई समेत मित्थ्या सावित गर्दै शान्ति दिदी एक उदाहरण बन्नुभयो,’ वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले भने ।

उपप्रमुख कार्कीको बैशाख २२ गते पोजेटिभ रिपोर्ट आएको थियो । सोही दिनबाट उनी दुई दिन संक्रमित बस्न बनाइएको स्थानीय विजय ज्योति होटल र त्यसपछि वीरगन्ज महानगरपालिकाको आफै संचालनमा ल्याएको अस्थायी कोभिड अस्पतालमा बसेकी थिइन् । कोरोना जित्दै बिहीबार डिष्चार्ज भएको उनका स्वकीय सचिव विजय पौडेलले बताए ।

उपप्रमुख कार्कीलाई वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौलाले अस्थायी कोभिड अस्पतालमा नै पुगी स्वागत गरे । ‘सास फेर्न अलि अप्ठ्यारो भएपछि गएको बैशाख १७ गते अक्सिजनको सपोर्टमा दुई दिन घरमा नै बस्नु भयो । अवस्था अलि ठिक भएपछि स्वाव परीक्षण गर्न दिंदा २२ गते संक्रमण पुष्टि हुनुभयो,’ उनका स्वकीय सचिव पौडेलले भने । त्यसको ठिक १३ औं दिनका दिन दोस्रो पटक दिएको स्वावको रिपोर्ट नेगेटिभ आएपछि बिहीबार साँझ नै डिष्चार्ज भएको पौडेलले बताएकाे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

‘पञ्चायती शासकका विरुद्ध लड्दा प्रहरीले बन्दुकको कुँजाले हिर्काएर ढाड बँग्याउँदा, जेलमा कोच्दा, त मरिएन भने जाबो कोरोनाले मार्न सक्दैन भन्ने उहाँमा असाध्यै आत्म बल थियो,’ स्वकीय सचिव पौडेलले भने । उनका अनुसार उमेरको ख्याल नगरी जनताको सेवामा निरन्तर लागिरहँदा अन्ततः आफै संक्रमित भएकी थिइन् । पौडेल भन्छन् ‘उपप्रमुख कार्कीमा आत्मबल नै धेरै छ । अहिले पनि गाडीमा भन्दा पैदल नै धेरै ठाउँमा हिँड्नुहुन्छ ।’

कोरोना जितेर डिष्चार्ज भएकी उपप्रमुख कार्कीले संक्षिप्त कुरा गर्दै सरकारबाट जारी स्वास्थ्य सुरक्षा मापदण्ड सबैले पालन गर्नु पर्ने सुझाव दिइन् । निषेधाज्ञाको पूर्ण रुपले पालन गर्दै सरकारलाई कोरोना नियन्त्रणमा सहयोग गर्न पनि उनले आग्रह गरिन् । ‘सबैले कोरोनालाई जितिन्छ भन्ने हुँदैन । त्यो भन्दा पहिले नै सबै सचेत भई सबै मापदण्ड पालना गर्नु पर्छ,’ उनले भनिन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *