३६ घण्टामा ३ दाजुभाइको निधन, घटना सुनेर दिदीको पनि मृत्यु

नेपालगन्ज । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद)को पवित्र रोजा चलिरहेको थियो । नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान गयो । स्व नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका इम्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो जहिर अहमदले ३६ घण्टाको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गुमाए ।

जहिर क्रिकेटका राष्ट्रिय खेलाडी थिए । एजाज अदालती अभ्यासमा नभए पनि अधिवक्ता थिए । इम्तियाजको लन्ड्री पसल छ । २२ वैशाखमा कान्छा जहिरको निधन भयो । अर्को दिन २३ वैशाखमा एजाजले ज्यान गुमाए । २४ वैशाखमा इम्तियाजले पनि संसार छोडे। ३ भाइको निधनको शोकमा ५५ वर्षीया दिदी नूर अपसाको पनि घटनाको केही दिनमै मृत्यु भयो ।

हट्टाकट्टा, खासै रोग नभएका एकै परिवारका तीन–तीन दाजुभाइको निधनले सुनारमण्डी टोल शोकमा डुब्यो । खबर नगरमा सनसनीपूर्ण रूपमा फैलियो । कोरोना केही पनि होइन भन्ने सबैलाई अहिले स्तब्ध बनाएको छ । झस्काएको छ । घटनाको झन्डै दुई सातासम्म पनि टोल शोकाकूल छ । अझै पनि आफन्तहरू घरमा आउन सकेका छैनन् । मृत्युको खबरले आफन्त धेरैले रोजा पूरा गर्न सकेनन् । इस्लाम धर्ममा बिरामी, अशक्त र बालबालिकालाई रोजा नगर्न पनि छुट हुन्छ ।

नेपालगन्जको सदरलाइनमा एकलैनी जाने बाटोको ठीक पश्चिमको गल्ली हुँदै ५० मिटरको दूरीबाट उत्तरमा जाँदा हल्वाइ परिवारको मिनी कोलोनी जस्तो घर आउँछ । २ कठ्ठाभन्दा बढी क्षेत्रफलमा वरिपरि सात भाइका २ देखि ३ तले ७ वटा घर छन् । छतहरू सबै जोडिएको एउटै गोल घर जस्तो देखिन्छ । एउटा घरमा कम्तीमा चारदेखि बढीमा ९ कोठा छन् । चारैतिर घर र बीचमा झन्डै १० धुर जति सबैको साझा आँगन छ । चारैतिर घर नै घर भएकाले पर्खाल लगाउनु परेको छैन । सबैका लागि एउटै मूल गेट छ । जहाँ अल्लाह कम्प्लेक्स लेखिएको छ ।

यही कोलोनीमा ७ भाइका छोराछोरी, नातिनातिना गरी ३५ जनाको परिवार बस्छ । सदरलाइनमा पुस्तौंदेखि बस्दै आएको यो परिवार सुनारमण्डीमा भने १२ वर्षअघि सबैै भाइको एउटै थलोमा घर बनाएर बस्न थालेको थियो । मंगलबार अपराह्नतिर पत्रकार पुग्दा यो बडेमानको घर पनि सुनसान थियो । मृतकका भतिजो (जेठो दाइ हाजी सब्बिरका कान्छा छोरा) सरप्राज मेहमुद मूलद्वारमा भेटिए । उनले दाइ सहनाज आदिल (माइलो बुवाको छोरा)लाई कुरा गर्न बोलाए । सहनाजले साइलो काका रियाज अहमदलार्ई डाके । ३ तले घरको दोस्रो तलाको उत्तरतर्फको झ्यालबाट उनले हेरिरहे । तल उनी आउन मानेनन् । मात्र चिहाइरहे । संवाददाताले बोलाउँदा पनि उनी तल झरेनन् । पत्रकार भनेपछि बरु झ्यालबाटै कुरा गर्न राजी भए ।

‘लगातार एकपछि अर्को भाइको मृत्युु भयो । अहिले त तल झर्न पनि हिम्मत आउँदैन’, उनले पीडा सुनाए’, ‘यो महामारी के हाम्रै घरको लागि भएको हो र ?’ बेला–बेलामा उनको बोली अवरुद्ध हुन्थ्यो । ‘सबै भाइ मिलेर बसेका थियौं । अभाव केही पनि थिएन । आवश्यक परेको बेलामा एकले अर्कोलाई सहयोग गर्थ्यौँ । किन हाम्रै परिवारमाथि यस्तो समस्या भयो ?’, ३ भाइ गुमाएका रियाजले भने, ‘हामीले आफ्नो तर्फबाट बचाउन सक्ने सबै प्रयास ग¥यौं । उपचार गर्न पैसाको अभाव पनि हुन्थेन । सबै भाइ मिलेर जति लागे पनि पैसा त जम्मा भइहाल्थ्यो । पैसाले मात्र पनि मान्छे बाँच्ने रहेनछ ?’

निधन भएका तीनवटै भाइलाई सुरुमा खोकी र ज्वरो आएको थियो । उनीहरूले त्यसको औषधि खाए तर निको भएन । शंका लागेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । जटिल स्वास्थ्य समस्या नहुँदासम्म उनीहरू होम आइसोलेसनमै बसेका थिए । तीन भाइलाई कोरोना भएपछि अरू थप ४ जनाको कोरोना परीक्षण गरिएको थियो । मृतकद्वय काइला र कान्छाकी पत्नीलाई पनि कोरोना पुष्टि भयो तर उनीहरू होम आइसोलेसनमा बसेर निको भए । ती बाहेक अरु कसैलाई कोरोना संक्रमण भएन । अस्पतालमा कुर्ने छोरा भतिजाहरूमा पनि कोरोना नभएको समाचार अन्नपूर्णपोस्ट दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *