प्रज्जवल थापा । गोलरक्षक एलिस्सन बेकेरले खेलको अन्तिम समयमा गोल गरेपछि लिभरपुलले इङ्लिस प्रिमियर लिगमा जित हात पारेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ब्रोमविचलाई २-१ गोलले पराजित गर्दै च्याम्पियन्स लिग खेल्ने आशा जिवित राखेको हो ।
लिभरपुललाई जित दिलाउन मोहमद सलाह र एलिस्सन बेकेरले एक/एक गोल गरे । वेस्ट ब्रोमविचको लागि हाल रोब्सन-कानुले एक गोल गरे । पहिलो हाफको १५ औं मिनेटमा पेरेराको पासमा रोब्सन-कानुले गोल गर्दै वेस्ट ब्रोमलाई खेलमा अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा मानेको पासमा सलाहले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए ।
दोस्रो हाफको अतिरिक्त समयमा एलेक्सान्डरको पासमा गोलरक्षक एलिस्सनले गोल गर्दै लिभरपुललाई २-१ गोलको जित दिलाए । जितसँगै लिभरपुल ३६ खेलबाट ६३ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा छ । पराजित वेस्ट ब्रोम विच २६ अङ्कको साथ १९ औं स्थानमा यथावत छ ।