भक्तपुर । युवतीहरू कसैको मृत शरीर देखे भने डराउँछन्, रुन्छन् र कमजोर देखिन्छन् भन्ने हाम्रो समाजको सोच छ । तर भक्तपुरका दुई युवती भने त्यो मान्यतालाई गलत सावित गर्दै कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा सक्रिय रूपमा लागेका छन् ।
भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भक्तपुर अस्पतालमा रातदिन बसेर उनीहरू कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा जुटिरहेका छन् । भक्तपुरकै २४ वर्षीया पुनम कर्माचार्य र २१ वर्षीया जिया जोशी सो कार्यमा खटेका हुन् । कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा लाग्ने उनीहरू देशकै पहिलो महिला रहेको बताइएको छ ।
हुन त शव व्यवस्थापन गर्न अस्पतालमा चर्चित उद्धारकर्मी अरूण सैंजूको नेतृत्वको आरएनए १६ समूह पहिलादेखि नै सक्रिय छ । तर कोरोना संक्रमणबाट मृत्युदर बढ्न थालेपछि यी दुई युवती पनि शव व्यवस्थापनमा जुटेका हुन् । उनीहरू दुवैजना आरएनए १६ का सदस्य पनि हुन् ।
नेपाली सेनासँग आरएनए समूह शव व्यवस्थापनमा स्वयंसेवकका रूपमा खटिरहेको छ । खास शव व्यवस्थापनको काम मेडिकलसम्बन्धी ज्ञान भएका स्वास्थ्यकर्मीले गर्नुपर्ने हो । तर अहिले स्वास्थ्यकर्मी बिरामीको उपचारमै व्यस्त भएकाले शव व्यवस्थापनसम्बन्धी तालिम लिएका र ज्ञान भएका उनीहरू यो काममा जुटेका छन् ।
पिपिई लगाएर कोरोनाबाट मृत्यु भएकाको शव राम्रोसँग र्यापिट गर्ने गर्छन् उनीहरू । स्वयंसेवकका रूपमा भक्तपुर अस्पतालमा २४सै घण्टा सेवाका लागि बसेका हुन्छन् र उनीहरूले राति बस्नका लागि त्यहाँ टेन्ट पनि बनाएका छन् । अघिल्ला वर्षमा पनि उनीहरू यसरी नै निःस्वार्थ सेवामा लागेका थिए यही कामका लागि । तर त्यो बेला शव व्यवस्थापनमा भने जुटेका थिएनन् । यसबाहेकका काममा उनीहरू खटिएका थिए । तर यो वर्ष उनीहरू अस्पतालमा मात्र होइन, आवश्यक परे घरघरमा समेत शव व्यवस्थापनमा जाने गरेका छन् ।
पुनम कर्माचार्य भन्छिन्, ‘अहिले दिनदिनै कोरोना संक्रमितको मृत्यु बढेको छ । यसकारण हामी शव व्यवस्थापनमा लाग्न थालेका हौं ।’ भक्तपुरमै मात्र दिनको ७÷८ जना संक्रमितको मृत्यु हुने गरेको र शव व्यवस्थापन गर्ने कामको बोझ बढेकाले आफूहरू पनि जुटेका पुनम बताउँछिन् । अहिलेसम्म सात जना कोरोना संक्रमितको शव व्यवस्थानमा जुटिसकेको उनले बताइन् ।
अर्की युवती जिया जोशीले मिलेर शव व्यवस्थापनमा लागेको जनाइन् । शव व्यवस्थापनमा कमसेकम दुईजना चाहिने उनले बताइन् । अहिलेसम्म आफूले दुई जनाको शव व्यवस्थापन गरेको उनले जनाइन् । एक जनाको शव व्यवस्थापन गर्न लगभग आधा घण्टा समय लाग्ने उनी सुनाउँछिन् ।
उनीहरू दुवैजनाले स्वेच्छाले सामाजिक सेवामा लागिपरेको बताए । कोरोनाको पहिलो लहरदेखि नै कोरोनासम्बन्धी जनचेतनामूलक काम गरिरहेका उनीहरू कोरोना संक्रमितको लहर कम भएको बेलामा पनि ठाउँठाउँमा पुगेर शव व्यवस्थापनबारे तालिम लिँदै आएका थिए । तर अहिले उनीहरू तालिम अनुसार शव व्यवस्थापनमै जुटेका छन् । ‘पहिला तालिम गरेका बेला नक्कली शव राखेर तालिम लिएका थियौं,’ अहिले वास्तविक शव व्यवस्थापनमा लागिरहेका छौं,’ उनीहरूले भनेको समाचार नागरिक दैनिकमा छापिएको छ ।
आरएनए समूहका संयोजक अरूण सैंजुले कोरोनाको दोस्रो लहरमा आरएनए १६ टिमका ५६ जनाको समूह स्वयंसेवकका रूपमा लागिरहेको बताए । अहिले भक्तपुरको शव व्यवस्थापनको काम आफूहरूले नेपाली सेनाको समन्वयमा गरिरहेको उनले जनाए । उनले अहिले टिममा सक्रिय रूपमा ११ जना लागिपरेको बताए । त्यसमा चार जना युवतीमध्ये दुई जना शव व्यवस्थापनमा जुटेको बताए। ‘पुनम कर्माचार्य र जिया जोशी अहिले हामीसँगसँगै शव व्यवस्थापनमा अग्रसर भएर काम गरिरहेका छन्,’ उनले भने ।
