कोभिडका कारण मनाङमा विदेशी पर्यटक अलपत्र

मनाङ । नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की मनाङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ ।

स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यहीँ रहनु परेको बताए । उनका अनुसार ती विदेशी पर्यटकहरु सकुशल रहेका छन् । यस गाउँपालिकामा अहिले नयाँ भेरियन्टसहितको कोरोना भाइरस देखिन थालेपछि सबैजसो गाउँहरु ‘सिल’जस्तै भएका छन् । विश्वकै १०औँ नम्बरमा रहेको पर्यटकीय गन्तव्य अन्नपूर्ण पदमार्ग बन्द भएको छ ।

यहाँका मानिस होटल व्यवसाय बन्द गरेर घरभित्रै छन् । गत मङ्गलबारको पिसिआर रिपोर्टअनुसार एक विदेशी नागरिकसहित जिल्लाभर २८ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ । हाल जिल्लाभर कोरोना सङ्क्रमित ४४ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय मनाङले जनाएको छ । अहिलेसम्म जिल्लाका दुईवटा गाउँपालिकामा मात्र सङ्क्रमित भेटिएका छन् ।

यसमध्ये चामे गाउँपालिकामा सात र मनाङ ङिस्याङ गाउँपालिका ३७ जना सङ्क्रमित रहेका छन् । मनाङमा रहेका विदेशी नागारिक मनाङ ङिस्याङ गाउँपालिका मनाङ गाउँमा १४ जना खाङ्सार तिलिचो बेसक्याम्पमा चार, ङावोलगाउँमा तीन र पिसाङगाउँमा एक गरी जम्मा २२ विदेशी पर्यटक जिल्लामा रहेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार वैशाख महिनामा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक मनाङ भित्रिएका थिए । त्यस्तै १९७ जनाले थोरङ्ला पास गरी मुस्ताङ पुगेका छन् भने १० जना मनाङबाट फर्किएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।

नेदरल्याण्डका नागरिक सङ्क्रमित भेटिएपछि मात्र जिल्ला प्रशासनले जिल्लाभित्र रहेका विदेशी पर्यटकको खोजी गर्न थालेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र मनाङमा तथ्याङ्क रहने भए पनि कुन ठाउँमा कति पर्यटक छन् भन्ने आधिकारिक नभएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए ।

उनका अनुसार विदेशी नागरिक अन्नपूर्ण क्षेत्रमा रहेका जाँचचौकीमा परमिट दर्ता गरेर आउने हुँदा हामीकोमा कुनै तथ्याङ्क हुँदैन । हामीले अहिले तथ्याङ्क खोजिरहेका छौँ”, उनले भने । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले तथ्याङक सङ्कलन गर्दै गरेको र कुन पर्यटक कुन ठाउँमा बसेका छन् खोजी भइरहेको जनाएको छ ।

अहिले कोरोना ‘हटस्पोट’ जस्तै बनेको मनाङमा रहेका विदेशी नागरिक अलपत्र परेको जानकारीसँगै जिल्ला प्रशासन कार्यलय मनाङले तथ्याङ्क सङ्कलन गर्दै उनीहरुको इच्छाअनुसार चाहेको ठाउँमा पठाउने कार्य भइरहेको प्रजिअ लामिछानेले बताए । उनका अनुसार एक जना नेदरल्याण्डका नागरिक सङ्क्रमित भएको र उनलाई हेलीचार्टर्ड गरी काठमाडौं पुर्याइएको छ भने अरु यहाँ सकुसल रहेका छन् । मनाङमा हाल अलपत्रमा रहेका अधिकांश युरोपियाली मुलुकका नागरिक छन् ।

दुई भारतीय, तीन इजरायली, अरु फ्रान्स, नेदरल्याण्ड र ब्रिटिसका नागरिक रहेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ । देशका ठूला शहरमा भयवह स्थिति आउँदै गर्दा मनाङ छिरेका उनीहरु अहिले मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न गाउँमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *