११ देशमा राजदूत नियुक्तिको सिफारिस

काठमाडौँ । परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ ।

शुक्रबार मात्रै पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिँदै प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालयमा पठाइएको जानकारी दिए । ‘लामो समयदेखि रिक्त रहेका र अरू रिक्त स्थानमा पनि एकमुष्ट रूपमा राजदूत सिफारिस गरेर पठाइएको छ,’ मन्त्री ज्ञवालीले भने ।

परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिसमा परेका छन् । सरकारले राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ जारी गरेर ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने नियम तय गरेको थियो ।

तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसमा राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल श्रीलंकाका लागि राजदूत सिफारिस भएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएको छ भने अस्ट्रेलियाको राजदूतमा सुम्निमा तुलाधर प्रस्तावित छिन् । उनी वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुन् । उनी बाल कल्याणकारी संस्था सिविन नेपालकी कार्यकारी संयोजकसमेत हुन् ।

यसैगरी रुसका लागि रुसी भाषाका ज्ञाता तथा अनुवाद साहित्यमा नाम बनाएका जंगबहादुर (जंगब) चौहान प्रस्तावित छन्, जंगब काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत छन् ।

यस्तै, झापाली कम्युनिस्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला म्यान्मार र एमाले पार्टीसम्बद्ध पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिसमा परेका छन् । प्राध्यापक संग्रौला झापास्थित शहीद रामनाथ बहुमुखी क्याम्पसका पूर्वप्रमुख तथा विगतमा पद्मकन्या, महेन्द्ररत्न क्याम्पससँग सम्बद्ध राजनीतिशास्त्रका प्राध्यापक हुन् ।

यस्तै, ब्राजिलमा कुलप्रसाद नेपाल र डेनमार्कमा सुमित्रा सुवेदीको नाम प्रस्तावित छ । नेपाल पाल्पाका पूर्वसांसद हुन् भने सुवेदीको विस्तृत परिचय खुल्न सकेको छैन । नेकपा एमालेसम्बद्ध मुस्लिम संगठनका अध्यक्षसमेत रहिसकेका मेराज मुसलमान साउदी अरेबियाको राजदूतमा प्रस्तावित छन् ।

सधैंजसो एउटा राजदूतले गरेको कामकारबाहीको ‘कार्यसम्पादन मूल्यांकन’ का आधारमा राजदूत नियुक्ति वा पदावधिबारे निर्णय गर्ने भनिए पनि अहिलेसम्म यस्तो प्रबन्ध हुन सकेको छैन । गत सातामात्रै अस्ट्रेलियास्थित राजदूत महेशराज दाहाललाई उनको कार्यकालको डेढ वर्ष नबित्दै फिर्ता बोलाइएको थियो भने कार्यकाल पूरा भइसकेका टोकियोस्थित राजदूत प्रतिभा राणा र मस्कटस्थित शर्मिला पराजुली ढकाललाई ‘अर्को निर्णय नहोइन्जेलका लागि कार्यकाल थप गरिएको’ थियो । यी निर्णयमा पनि राजदूतको कार्यसम्पादन मूल्यांकन हेरिएको थिएन । प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पारित भएपछि बढीमा एक महिनाभित्रमा राजदूत नियुक्ति प्रक्रियामा अघि बढ्ने समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *