काठमाडौँ । सूर्य नेपाल प्रा.लि.ले राजधानीका तीन सरकारी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामति कर्मचारी अस्पताललाई कम्पनीले ल्याटेक्स पन्जा, सर्जिकल मास्क, फेस सिल्ड, पीपीई, अक्सिमिटरलगायतका सामग्री प्रदान गरेको हो ।
तीनवटै अस्पतालका कार्यकारी निर्देशकहरुलाई आज ती अत्यावश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको सूर्य नेपालले जनाएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण र वितरण कार्यमा अस्पतालका सम्बन्धित अस्पतालका स्वास्थ्यकर्मी र काठमाडौँमा रहेको सामाजिक संस्था इग्बोसाले सहजीकरण गरेका थिए ।
कोभिड १९ महामारीको दोस्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा देखिएको संकटका बेला राहतका अन्य विभिन्न क्रियाकलापहरु समेत सञ्चालन गर्ने कम्पनीको योजना छ ।
यसअघि, कोरोना भाइरसको पहिलो लहरमा पनि कम्पनीले प्रत्येक प्रदेशमा स्थापनमा गरिएको ‘कोभिड १९ उपचार तथा नियन्त्रण कोष’ मा एक/एक करोड गरी सात करोड रुपियाँ सहयोग गरेको थियो ।
