इलिमिनेटरमा आज ललितपुर र बुटवल भिड्दै

प्रज्जवल थापा । पहिलो संस्करणको फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल) अन्तर्गत आज हुने इलिमिनेटर खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५:३० बजेस शुरु हुनेछ ।

आज हुने खेल जित्दै दुवै टोली क्वालिफायरमा पुग्न चाहन्छन् । आजको खेल जित्ने टोलीले भोलि हुने दोस्रो क्वालिफायर खेलमा काठमाडौं रेजर्सको सामना गर्नेछ । काठमाडौं मंगलबार भएको पहिलो क्वालिफायर खेलमा धनगढी एफसीसँग पराजित भएको थियो । धनगढीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर लिगको तेस्रो स्थानमा रहँदै प्लेअफको बाटो तय गरेको थियो । ललितपुरले लिग चरणको ६ खेल मध्य अन्तिम दुई खेलमा जित निकाल्दै ३ खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो ।

यस्तै गोलरक्षक विशाल श्रेष्ठको कप्तानीमा रहेको बुटवल लुम्बिनी चौथो स्थानमा रहेर लिग चरणको अन्त्य गरेको थियो । लिग चरणको ६ खेलमा बुटवलले २ जित, २ बराबर र २ हारको नतिजा निकालेको थियो । लिग चरणको खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई १-० गोलले हराएको थियो ।

अखिल नेपाल फूटबल संघ(एन्फा) को प्रविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको लिगमा सात टोलीको सहभागिता रहेको छ । सहभागि टिममा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर एफसी र पोखरा थन्डर्स रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ । व्यक्तिगत विधाका विजेता सहित उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *