प्रज्जवल थापा । धनगढी फूटबल क्लब नेपालमा पहिलो पटक आयोजना भईरहेको फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको रोमाञ्चक पहिलो प्लेअफ खेलमा धनगढीले काठमाडौंलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
जितसँगै धनगढी एफसी सिंधै फाइनलमा प्रवेश गरेको छ । पराजित काठमाडौंले भने फाइनल प्रवेशको लागि इलिमिनेटरमा मौका पाउनेछ । भोली हुने दोस्रो प्लेअफ खेलको विजेताले इलिमिनेटरमा फाइनल प्रवेशको लागि काठमाडौं रेजर्सको सामना गर्नेछ । दोस्रो प्लेअफमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्नेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र ‘मार्की प्लेयर’ विशाल राईले समान एक/एक गोल गरे । काठमाडौंको लागि तेज तामाङले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा काठमाडौं हार बेहोर्न बाध्य भयो । दोस्रो हाफको ७५ औं मिनेटमा काठमाडौंले खेलमा अग्रता लिएको थियो । मेसौकेको क्रसमा तेज तामाङले हेडिङ गोल गर्दै काठमाडौंलाई खेलमा अगाडि बढाएका थिए ।

तर ७८ औं मिनेटमा निशानको कर्नर किकमा गोलरक्षक विकेश कुथुले राम्रोसँग क्लियर गर्न नसकेको बललाई पूजन उपरकोटीले ओभरहेड गोल गर्दै धनगढीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयको १ सय ८ औं मिनेटमा धनगढीका ‘मार्की प्लेयर’ विशाल राईले गोल गर्दै धनगढीलाई अग्रता दिलाए । विपक्षी डिफेन्डरले राम्रोसँग क्लियर गर्न नसकेको बललाई रमेश दंगलले मिलाएको बलमा विशालले गोल गरेका हुन् । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा धनगढीले २-१ गोलले खेल आफ्नो पक्षमा पारेको हो ।
यसअघि पहिलो हाफको १६ औं मिनेटमा काठमाडौंका स्टेफेन बिनोङले गरेको प्रहार पोस्टमा लागेर फर्किदा काठमाडौंले खेलमा अग्रता लिने मौका गुमाएको थियो । ३७ औं मिनेटमा काठमाडौंकै सुदिल राईले गरेको प्रहार गोलरक्षक किरण चेम्जोङले बचाए । ४१ औं मिनेटमा विपक्षी डिफेन्डरले राम्रोसँग क्लियर गर्न नसकेको बलमा सुदिलले गरेको प्रहार डिफेन्डरलाई लाग्दै बाहिरियो ।

यस्तै ६२ औं मिनेटमा धनगढीका विशाल राईले मैदानको बिच भाग नजिकैबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ६३ औं मिनेटमा धनगढीकै निशान खड्काको क्रस गोलरक्षक विकेश कुथुले सहजै नियन्त्रणमा लिए ।
अखिल नेपाल फूटबल संघ(एन्फा) को प्रविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको लिगमा सात टोलीको सहभागिता रहेको छ । सहभागि टिममा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर एफसी र पोखरा थन्डर्स रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ । व्यक्तिगत विधाका विजेता सहित उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।
तस्बिर:- मनोज थापा/रमेश सुवेदी खेलपाटी डट कम
