काठमाडौं र धनगढीबिचको पहिलो हाफ गोलरहित बराबरी

प्रज्जवल थापा । खुकुरी नेपाल सुपर लिग(एनएसएल)को प्लेअफ अन्तर्गत भएको पहिलो खेलको पहिलो हाफामा काठमाडौं रेजर्स र धनगढी एफसीले गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारि खेलमा पाएको अवसर सदुपयोग गर्न नसक्दा हाफ बराबरीले सकिएको हो । १६ औं मिनेटमा काठमाडौंका स्टेफेन बिनोङले गरेको प्रहार पोस्टमा लागेर फर्किदा काठमाडौंले खेलमा अग्रता लिने मौका गुमाएको हो । ३७ औं मिनेटमा काठमाडौंकै सुदिल राईले गरेको प्रहार गोलरक्षक किरण चेम्जोङले बचाए । ४१ औं मिनेटमा विपक्षी डिफेन्डरले राम्रोसँग क्लियर गर्न नसकेको बलमा सुदिलले गरेको प्रहार डिफेन्डरलाई लाग्दै बाहिरियो । दोस्रो हाफ केही बेरमा शुरु हुनेछ ।

आज हुने खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरमा मौका पाउनेछ । भोली हुने दोस्रो प्लेअफको विजेताले एलिमिनेटरमा पहिलो प्लेअफ खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशको लागि भिड्नेछ । दोस्रो प्लेअफमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्नेछन् । फाइनल खेल जेठ १ गते हुनेछ ।

अखिल नेपाल फूटबल संघ(एन्फा) को प्रविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको लिगमा सात टोलीको सहभागिता रहेको छ । सहभागि टिममा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर एफसी र पोखरा थन्डर्स रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ । व्यक्तिगत विधाका विजेता सहित उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।

तस्बिर:- गोल नेपाल डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *