अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जना पक्राउ

काठमाडौं । शरीरमा अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार पक्राउ पर्नेमा बल्खुस्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथलीस्थित नानोटेक फर्माका संचालक शेषकान्त अधिकारी, बाजुराका थुमराज उपाध्याय, सुनसरीका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतीय नागरिक जगदीश प्रसाद रानासरिया छन् ।

बास्तबिक मूल्यभन्दा धेरै मुल्यमा बेच्न खोजेको अवस्थामा ७ सय ६५ थान अक्सिमिटर बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी, औषधि व्यवस्था विभाग तथा वाणिज्य विभागका प्रतिनिधिको रोहवरमा अक्सिमिटर बरामद गरेको छ ।

कोभिड–१९ को दोस्रो संक्रमण अत्यधिक बढेको अवस्थामा अक्सिमिटरको माग बढेको छ । पक्राउ गरिएकाहरुलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *