प्रज्जवल थापा । ललितपुर सिटी एफसी खुकुरी नेपाल सुपर लिग(एनएसएल)को प्लेअफमा प्रवेश गर्नेछ । शनिबार दिउँसो भएको दिनको पहिलो तनावपूर्ण खेलमा ललितपुरले १० खेलाडीमा सिमित विराटनगर सिटी एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको हो ।
हारसँगै विराटनगर सिटी समुहचरणबाटै बाहिरिएको छ । ललितपुरलाई जित दिलाउन कप्तान तथा मार्की खेलाडी अन्जन विष्टले दुई गोल गर्दा बिमल राना र नुर्लान जाहिदले एक/एक गोल गरे । पहिलो हाफको ३५ औं मिनेटमा अन्जनले गोल गर्दै ललितपुरलाई शुरुवाती अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा बिमल रानाले गोल गर्दै ललितपुरको अग्रता दोब्बर बनाए ।
८१ औं मिनेटमा अन्जन विष्टले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई सहज जिततर्फ अगाडि बढाए । यस्तै अतिरिक्त समयको छैटौं मिनेटमा नुर्लान जाहिदले गोल गर्दै ललितपुरलाई ४-० गोलको जित दिलाए । जितसँगै ललितपुर ६ खेलबाट ९ अङ्क जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफमा प्रवेश गरेको छ ।
