प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज उपाधि होडमा रहेका दुई ठुला टोली बार्सिलोना र एथ्लेटिको म्याड्रिड भिड्दैछन् । क्याम्प नोउमा हुने खेल नेपाली समय अनुसार राति ८ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । घरेलु मैदानमा हुने खेल जित्दै बार्सिलोना शिर्ष स्थानमा उक्लिन चाहन्छ । हाल बार्सिलोना ३४ खेलबाट ७४ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा छ । आजको खेलमा पराजित भएको खण्डमा बार्सिलोनाको उपाधि यात्रा कठिन हुनेछ ।
यता एथ्लेटिको म्याड्रिडपनि आजको खेल जित्दै उपाधि होडमा थप बलियो बन्न चाहन्छ । हाल एथ्लेटिको म्याड्रिड ३४ खेलबाट ७६ अङ्क जोड्दै शिर्ष स्थानमा छ । आजको खेलमा एथ्लेटिको पराजित भएको खण्डमा बार्सिलोना र रियल म्याड्रिडलाई फाईदा पुग्नेछ । आजको खेलमा एथ्लेटिको पराजित भए वा बराबरीमा सकिएको खण्डमा रियल म्याड्रिडमा शिर्ष स्थानमा उक्लिने मौका रहनेछ । हाल म्याड्रिड ३४ खेलबाट ७४ अङ्क जोड्दै दोस्रो स्थानमा छ । म्याड्रिडले भोली सेभिल्लाको सामना गर्दैछ ।
बार्सिलोना र एथ्लेटिको म्याड्रिडबिच भएको पछिल्लो ३२ भेटमा १८ खेल बार्सिलोनाले जितेको थियो भने ४ खेल एथ्लेटिकोले आफ्नो पोल्टामा पारेको थियो ।
