पोखराको महत्त्वपूर्ण पुनरागमन जित, चितवन बाहिरियो

प्रज्जवल थापा । खुकुरी नेपाल सुपर लिग(एनएसएल) मा पोखरा थन्डर्सले महत्त्वपूर्ण पुनरागमन जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखराले १० खेलाडीमा सिमित चितवन एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना जिवित राखेको हो ।

हारसँगै चितवनको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । पोखरा थन्डर्सलाई जित दिलाउन नवयुग श्रेष्ठ र राफायल रिमगागोले एक/एक गोल गरे । चितवनको लागि शिशिर लेखीले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा चितवन हार बेहोर्न बाध्य भयो । खेलको ७२ औं मिनेटमा शिशिर लेखीले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए ।

८३ औं मिनेटमा चितवनका गोलरक्षक विशाल सुनुवारले पेनाल्टी क्षेत्र बाहिर आउँदै हातले बल क्लियर गरेपछि रेफ्री प्रज्जवल क्षेत्रीले उनलाई सिंधै रातो कार्ड दिएपछि चितवन बाँकी समय १० खेलाडीमा रहेर खेलेको थियो । त्यसैमा पाएको फ्रिकिक अवसरलाई सदुपयोग गर्दै नवयुग श्रेष्ठले पोखरालाई बराबरीमा ल्याए । यस्तै अतिरिक्त समयको पाँचौ मिनेटमा राफियल रिमगागोले गोल गर्दै पोखरालाई २-१ गोलको महत्त्वपूर्ण जित दिलाए ।

जितसँगै पोखरा ६ खेलबाट ८ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । पोखराले प्लेअफ प्रवेशको लागि अन्य टोलीको नतिजा पर्खिनुपर्नेछ । लगातार पाँच खेलमा पराजित चितवन २ अङ्कसहित लिगको पुछारमा रहेको छ । अन्तिम खेल खेल्न बाँकी रहेपनि चितवनको प्लेअफ पुग्ने सम्भावना समाप्त भैसकेको छ ।

तस्बिर:- मनोज थापा/रमेश सुवेदी, खेलपाटी डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *