रियो दी जेनेरोमा प्रहरी र तस्करबीच गोली हानाहान, कम्तीमा २५ जनाको मृत्यु

ब्राजिलको रियो दी जेनेरोमा बिहीबार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान गएको छ ।

मृत्यु हुने अन्यहरुमा आपराधिक समूहका सदस्यहरु रहेको प्रहरीको भनाई छ । गोली हानाहानको घटना स्थानीय समय अनुसार बिहीबार बिहानै भएको थियो । प्रहरीले रियो दी जेनेरोको जाकारेजिन्हो नामको झुपडबस्तीमा लागूऔषधका तस्करहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा भिषण कारबाही गरेको थियो ।

यसक्रममा ठूलो संख्यामा प्रहरीहरु आधुनिक हतियार सहित उक्त बस्तीमा पुगेका थिए । सामाजिक सञ्जालमा पोष्ट गरिएका दृश्यहरुमा झुपडबस्तीका धेरै ठाउँमा ग्यास बम बिस्फोट गरिएको र गोली चलेको आवाज सुनिएको छ ।

हेलिकप्टरबाट लिइएका तस्वीरहरुमा सशस्त्र तस्करहरु घरका छानाबाट भाग्दै गरेका देखिएका छन् । जाकारेजिन्हो झुपडबस्तीलाई रेड कमान्ड नाम गरेको आपराधिक समूहले आफ्नो अखडा बनाउँदै आएको थियो । रियो दी जेनेरोका अन्य झुपडबस्तीहरु पहाडी इलाकाहरुमा रहे पनि जाकारिन्हो बस्ती भने समथल ठाउँमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *