प्रज्जवल थापा । म्यान्चेस्टर युनाइटेड युईएफए युरोपा लिगको फाइनमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३-२ गोलको हार बेहोरेपनि समाग्रमा ८-५ को जित निकाल्दै युनाइेडले फाइनलको टिकट काटेको हो ।
दुई टोलीबिच ओल्ड ट्राफोर्डमा भएको पहिलो लेगमा म्यान्चेस्टर युनाइटेड ६-२ गोलले विजयी भएको थियो । स्टेडियो ओलम्पिकोमा भएको दोस्रो लेगमा घरेलु टोली रोमालाई जित दिलाउन एडेन डिजेको, ब्रयन क्रिस्टान्टे र निकोला जालेवस्कीले एक/एक गोल गरे । युनाइटेडको लागि एडिन्सोन काभानीले दुई गोल गरे ।

खेलमा शुरुवाती अग्रता भने पाहुना टोलीले लिएको थियो । पहिलो हाफको ३९ औं मिनेटमा फ्रेडको पासमा काभानीले गोल गर्दै युनाइटेडलाई खेलमा अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा पेड्रो रोड्रिग्वेजको पासमा डिजेकोले गोल गर्दै रोमालाई बराबरीमा ल्याए । ६० औं मिनेटमा पेलेग्रेनीको पासमा क्रिस्टान्टेले गोल गर्दै रोमालाई २-१ गोलको अग्रता दिलाए ।
६८ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा काभानीले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । ८३ औं मिनेटमा सान्टोनको पासमा जालेवस्कीले गोल गर्दै रोमालाई ३-२ गोलको जित दिलाए । तर उक्त जित रोमालाई फाइनल पुर्याउन पर्याप्त रहेन ।
अब युनाइटेडले फाइनल खेलमा स्पेनिस टोली भिल्लारियलको सामना गर्नेछ । भिल्लारियलले इङ्लिस क्लब आर्सनललाई समाग्रमा २-१ गोलले हराउदै फाइनलमा स्थान पक्का गरेको हो ।
