निषेधाज्ञामा पनि पोखरामा धमाधम विकासका काम

वासुदेव पौडेल, गण्डकी । पोखरा महानगरपालिका–३२ मा विकासका कामले तीव्रता पाएको छ । प्रदेश गौरवका आयोजनासँगै शिक्षा, भौतिक पूर्वाधार, पर्यटन लगायतका हरेक क्षेत्रमा विकासका कार्यक्रमले गति लिएका हुन् ।

नेपालको एकीकरण पूर्व यस क्षेत्रका १२ वटा राज्यका राजा कास्कीको पूर्वी भेगमा जम्मा भई सम्झौता गरेको यहाँको ‘राजाको चौतारा’ लाई दोस्रो लोकतान्त्रिक जनआन्दोलनपछि नाम परिवर्तन गरी ‘जनताको चौतारा’ नामाकरण गरिएएको छ ।

मालमूल फाँटमा रहेको यस चौतारालाई इतिहासको साक्षीका रुपमा नेपाली सेनाको सहयोगमा पुनर्निर्माण गर्न थालिएको पोखरा महानगरपालिका–३२ का वडा सदस्य विष्णु तिवारीले जानकारी दिए । उनका अनुसार ऐतिहासिकता झल्कने स्वरुपमा उक्त चौतारा ४० लाख रुपैयाँको लागतमा पुनर्निर्माण गर्न लागिएको हो ।

तत्कालिन समयमा यो चौतारा नेपालको पूर्वपश्चिम हिँड्ने मूल मार्गमा पर्दथ्यो । यहीँबाट काठमाडौँ, पश्चिमतिर जुम्ला र किल्ला काँगडासम्मको लस्कर चल्थ्यो । पूर्व पश्चिमबाट दक्षिणतर्फ हालको तनहुँ भीमादतर्फ जाने हुलाकी मार्ग पनि यहीँबाट छुट्टिने भएकाले हुलाकका जाँचकीले यही चौतारामा बसेर हुलाक जाँच्ने गरेको इतिहासमा उल्लेख छ ।

इतिहासमा युद्ध विराम गरिएको चौतारा भएकाले यसको गरिमा र महत्वलाई कायम गर्न शान्ति, मेलमिलाप र सहअस्तित्वको प्रतीकका रुपमा पुनर्निर्माण गर्ने तयारी गरिएको हो ।

पुनर्निर्माणका क्रममा ऐतिहासिक राजाहरूको झल्को आउने सालिक, स्तम्भ, बटुवा बस्ने टहरो, तलाउ, पानीको घडा, बगैँचासहितको पार्क, प्रतीक्षालय निर्माण गरिने वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए।

पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने प्रवेशद्वारका रुपमा रहेको यस वडामा गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना गर्ने भएको छ । गण्डकी प्रदेश सरकार र भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा पोखरा महानगरपालिका–३२, मालमूलको स्यालतहरामा गण्डकी विश्वविद्यालयको भवनको हालै शिलान्यास गरिएको छ । दक्ष जनशक्ति उत्पादनका साथै र व्यावहारिक शिक्षा दिने स्थलका रुपमा विश्वविद्यालय स्थापित हुने विश्वास लिइएको छ । वडामा हाल आठवटा सरकारी विद्यालय रहेकामा एक गुरुकुलसहित दुईवटा मावि र पाँचवटा आधारभूत विद्यालय रहेका छन् ।

त्यस्तै, पाँचवटा संस्थागत विद्यालय छन् । निर्माणाधीन गण्डकी विश्वविद्यालय करीब ७४ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । विश्वविद्यालयका लागि मालमूल फाँट र गुठाको चौरको बीचमा ३५५ रोपनी जग्गा छुट्याइएको छ ।

वडा भित्रै बन्न लागेको प्रदेश बसपार्कको काम प्रक्रियागत रुपमा अघि बढेको वडाध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार बसपार्कको जग्गाका लागि मुआब्जा व्यवस्थापनका लागि समिति गठन गरिसकिएको छ । प्रस्तावित बसपार्क बन्ने स्थानमा ९२ रोपनी सार्वजनिक जग्गा रहेको छ भने ६२ रोपनी लालपुर्जा एवम् ८० रोपनी सेतो पुर्जा सहितको जग्गा छ ।

वडाभित्र माछापालनको कार्यक्रमअन्तर्गत खुदी खोलामा माछापालनका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी सकिएको छ । उक्त आयोजनाअन्तर्गत वार्षिक दुई अर्ब २५ करोड बराबरका माछा उत्पादन हुने अनुमान गरिएको छ ।

पोखरा ३२ कै मजुवाको सात तरेमा जडीबुटी प्रशोधन केन्द्र निर्माणका लागि ५० रोपनी जग्गा छुट्याइएको छ भने उक्त क्षेत्रमा नै शहीद पार्क निर्माणका लागि २५५ रोपनी जग्गा छुट्याइएको छ ।

वडामै पर्ने महत्वपूर्ण पर्यटकीयस्थल रुपातालमा रुपाताल परियोजनाअन्तर्गत ४५ करोडमा बाँध बन्ने र साबिकको तालको सतहभन्दा थप चार मिटर माथिसम्म उचाइ थपिने वडाध्यक्ष कार्कीको भनाइ छ ।

पृथ्वी राजमार्ग हुँदै पोखरा छिर्र्ने यस वडामा पूर्वाधार विकासका क्रमले गति लिएसँगै यहाँका राजाको चौतारा, मालमूल फाँट, गगनगौंडा, लामेआहाल लगायतका स्थानमा बस्ती विकासको क्रमले पनि गति लिँदै गएको स्थानीयवासी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *