चितवन, मकवानपुर र डोटीमा गरी थप पाँच जना कोरोना संक्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण चितवनमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक÷एक जना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

निमोनियाको समस्या भई वैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान ५ः३५ बजे मृत्यु भएको हो ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते मेडिकल कलेजमा आएका थिए । उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपश्चात अस्पतालमा उपचारका क्रममा उनको मङ्गलबार राति २ः३० बजे मृत्यु भएको हो ।

यसैगरी अर्घाखाँचीको भूमिकास्थानका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान–१ का ४२ वर्षीय पुरुष रहेको चितवन मेडिकल कलेजले जनाएको छ ।

कलेजका अनुसार श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते अस्पताल आएका उनको राति २ः०२ बजे मृत्यु भएको हो । उनमा वैशाख २० गते बुटवलको नेशनल प्याथोल्याबमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

डोटीमा एक जना कोरोना सङ्क्रमितको मृत्यु
डोटीमा एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जिल्लाको आदर्श गाउँपालिका–२ कालिकास्थानका ६२ वर्षीय एक पुरुषको कोरोनाका कारण आज बिहान मृत्यु भएको हो ।

मृतकको कोरोना परीक्षण गर्दा गएको चैत २० गते पिसिआर पोजेटिभ देखिएको थियो । कोरोना भाइरसको सङ्क्रणबाट डोटीमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने अस्पतालको आइसोलेशनमा मृत्यु हुनेमा उनी पहिलो हुन् । मृतक दम र प्रेसरको बिरामी रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । मृतकको शव नेपाली सेनाले आजै अन्त्यष्टि गर्ने तयारी गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
हेटौँडा अस्पतालमा थप एकजनाको मृत्यु
कोरोना सङ्क्रमणका कारण हेटौँडा अस्पतालमा थप एकजना पुरुषको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–५ बस्ने ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिए । उनका अनुसार गत वैशाख १५ गते अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । उनमा वैशाख १४ गते नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यससँगै हेटौँडा अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ६ पुगेको अस्पतालले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *