रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किए

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन् । एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ । तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन ।

केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्किएका छन् । दोस्रोमा रोजगारी गुमाएर फर्किने मुलुकमा कतार पर्छ । यूएईबाट १ लाख ४० हजार २ सय १६ र कतारबाट १ लाख ५ हजार ७ सय ७४ जना फर्किएका हुन् । मलेसियाबाट ४८ हजार ४ सय ३५, साउदी अरबबाट ४१ हजार ६ सय ६८, कुवेतबाट २३ हजार ३ सय ४१, भारतबाट ३६ हजार १ सय ९५, टर्कीबाट १३ हजार ६ सय ३४, जापानबाट १३ हजार ५ सय २५ जना फर्किएका छन् ।

सिंगापुरबाट ५ हजार ५ सय ३, ओमनबाट ५ हजार ३ सय ७६ र दक्षिण कोरियाबाट ३ हजार ५ सय ६२, चीनबाट ३ हजार ५ सय ५८, हङकङ र मकाउबाट ३ हजार १ सय ६४ जना छन् । बंगलादेशबाट २ हजार ५ सय ९५, बहराइनबाट १ हजार ३ सय ५५, अस्ट्रेलियाबाट १ हजार २ सय ४४ र माल्दिभ्सबाट १ हजार १८ जना कोभिड १९ को असज परिस्थितिका कारण स्वदेश फर्किएका हुन् ।

भारतबाट विभिन्न नाका हुँदै करिब ७ लाख नेपाली स्वदेश फर्किएको भनिए पनि यो तथ्यांकमा समेटिएको छैन । कोभिडयता नियमित अवस्थामा कति कामदार फर्किए भन्ने यकिन तथ्यांक छैन । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीबाट फर्किनेको तथ्यांक राख्ने पहल थाले पनि त्यो अझै प्रभावकारी हुन सकेको छैन ।

वैदेशिक रोजगार बोर्डले गत वर्ष खाडी र मलेसियामा कोरोनाका कारण ४ लाख ७ हजार कामदार प्रभावित भएको सार्वजनिक गरेको थियो । भारतसहित खाडी मुलुकमा ३१ लाख श्रमिक कार्यरत रहेको अध्ययनले देखाएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ५४ लाख ९६ हजार ४ सय ६० पुगेको छ । खाडी र मलेसियामा मात्रै १३ लाख ४८ हजार ८ सय ७२ जना कार्यरत रहेको तथ्यांक छ।

कोरोना भाइरसको दोस्रो लहरले वैदेशिक रोजगार प्रभावित भएको छ । पछिल्लो समयमा निशेधाज्ञासहित हवाई उडानसमेत बन्द गरिएका छन् । नेपालमा दोस्रो लहर सुरु हुनुअघि वैदेशिक रोजगार सहज हुन थाले पनि पछिल्लो समयमा प्रभावित बन्न पुगेको छ ।

सरकारले चालू आर्थिक वर्ष ७ लाखलाई रोजगारी दिने घोषणा गरेको थियो । तर, रोजगारी सिर्जना हुने कुनै कार्यक्रम अघि बढाइएको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाखलाई सय दिने रोजगारी दिने घोषणा गरिए पनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । अन्य रोजगारीका सिर्जनाका कुनै पनि पहल थालिएको छैन ।

विभागका अनुसार कोभिड–१९ यता १ लाख श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । स्वदेशमा पर्याप्त रोजगारी सिर्जना नहुनु, वैदेशिक रोजगारमा जान नपाउनु तथा वैदेशिक रोजगारबाट फर्किने क्रम बढेसँगै रोजगारीमा असन्तुलन पैदा भएको छ ।

श्रमविज्ञ डा गणेश गुरुङ सरकारले रोजगारी सिर्जना गर्न ध्यान नदिएको बताउँछन् । कोभिडपछि धेरै भारतीय श्रमिक पलायन भएकाले उनीहरूको ठाउँमा विदेशबाट फर्केकालाई अवसर दिन ढिलाइ गर्न नहुने डा गुरुङको सुझाव छ । ‘विदेशमा जे काम गरेको छ, यहाँ पनि त्यही प्रकृतिको काम दिनुपर्छ’, उनी भन्छन् । कोभिडको दोस्रो लहरले वैदेशिक रोजगार तहसनहस हुन सक्ने चिन्ता व्यक्त हुन थालेको छ ।

वैदेशिक रोजगारीबाट ८ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ । यसले कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशतभन्दा बढी योगदान दिएको छ । केही वर्षअघि वैदेशिक रोजगारीले कुल गार्हस्थ उत्पादनमा २९ प्रतिशतभन्दा बढी हिस्सा ओगटे पनि पछिल्लो समयमा खुम्चिँदै गएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *